राक्षसलाई धपाउने नेवार समुदायकाे माैलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

२०७६ साउन १४ गते १०:४७ लक्ष्मी गारु

भादगाउँ । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् ।

यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ ।

यस दिन शिवपुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गरिन्छ । यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ । यस दिन नेवार समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबाटोमा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोबाटोमा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्यालढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौँ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक–चोकमा ठड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीकस्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगर बाहिर लगेर जलाइन्छ । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लील शब्दहरु प्रयोग गर्दै गीत गाउँदै जाने गरिन्छ ।

यस पर्वलाई किसानहरुको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँकार्य सम्पन्न भएको) र चाडपर्वको शुरुआत भएको सङ्केत पर्वको रूपमा पनि लिने गरिएको छ । नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गरिन्छ ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि यो पर्व मनाउँदै आएको उनले बताए । यस पर्वलाई मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठको भनाइ छ ।

प्रचलित किंवदन्तीअनुसार कानमा घण्ट झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकको रूपमा पनि लिइन्छ । परापूर्वकालमा देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन नपराउने बडेमानको शरीर भएका एक व्यक्ति थिए, जसले भगवान्को नाम सुन्न पर्ला भनेर कानमा ठूला–ठूला घण्ट झुण्ड्याएर हिँड्ने गर्दथे । घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्ट झुण्ड्याएको हुनाले त्यसलाई घण्टाकर्ण भन्न थालियो । उसलाई सुनभन्दा फलाम मन पथ्र्यो ।

विस्तारै उसले दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने, बाटामा हिँड्नेसँग जगात (कर) माग्ने, जनतालाई दुःखकष्ट दिने, महिला र बालिकामाथि व्यभिचार गर्ने गर्न थाल्यो । एक दिन उसलाई साह्रै भोक लागेको बेला आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानवबस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतोले घण्टाकर्णलाई धाप (भास भएको जमिन) तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर पठायो । घण्टाकर्ण त्यतै लागे तर ऊ धापमा फस्यो । जति निस्कन खोज्यो त्यति उनी भासिँदै गयो । साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुङ्गाले हानेर उसलाई मारे ।

यसै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने परम्परागत देवीदेवताका नाचसहित व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि शुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि यसै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । रासस