नेपाल भ्रमण वर्षको प्रचार गर्न अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन हुँदै

२०७६ साउन १३ गते १६:२२ विकासन्युज


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तराष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल तामाङ बोम्बो संरक्षण समाजले पुस १४ र १५ गते सम्मेलन गर्ने जनाएको हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने राखेको लक्ष्यलाई सहयोग गर्न र नेपालको कला संस्कृतिलाई विश्वमा चिनाउन सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ । सम्मेलनमा करिब एक हजार बोम्बोहरुको सहभागिता गराउने बोम्बो संरक्षण समाजले लक्ष्य राखेको छ ।

सम्मेलनमा जर्मनी, इटाली, भुटान, भारत र चीनबाट पनि बोम्बोहरु आउने बताइएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजका महासचिव विष्णुबहादुर तामाङले राष्ट्रको कला, संस्कार, संस्कृति र साहित्यलाई विश्वमा चिनाउने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष महाराज भोम्जनले नेपालमा बोम्बो(झाँक्री) भनेपछि नकारात्मक र कुरिती कुसंस्कारमात्र सोच्ने भएका कारण त्यो मानसिकता आम मानिसहरुबाट हटाउन, संसारका बोम्बोहरुलाई एकता गर्न र लुकेर रहेका बोम्बोहरुलाई सक्रिय बनाउन सम्मेलन गर्न थालिएको बताए । उनले सम्मेलनका लागि ३५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले बताए ।

यस्तै, बोम्बो संरक्षण समितिले आयोजना गर्ने सम्मेलनमा ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)को पनि समन्वय हुने बताइएको छ । टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले सबै जिल्लाका बोम्बोहरुसँग समन्वय गरी कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताउँदै पर्यटक बढाउने काममा टानले सक्दो सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा बोम्बोहरु विभिन्न शैलीको पोशाकको भेषमा उपस्थित भएका थिए ।