चितवन मेडिकल कलेजबाट चार लाखभन्दा बढीले पाए उपचार 

  २०७६ साउन १३ गते १३:०८     विकासन्युज

चितवन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिएका छन् ।

आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ३६ प्रतिशत भने दुर्घटनाका बिरामी हुन् । सोही अवधिमा ४२ हजार ७०६ बिरामी भर्ना भएर सेवा लिएका छन् । त्यस्तै दुई हजार ९९३ ले निःशुल्क प्रसूति, सात हजार ८३० ले शल्यक्रिया, दुई हजार ५२८ ले मुख्य शल्यक्रिया सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटिस्क्यान, दुई हजार ९७९ को एमआरआई, ५१ हजार ८६९ को युएसजी (भिडियो एक्स–रे) गरिएको थियो । सो अवधिमा ७४ हजार ४६३ जनाले बीमामार्फत सेवा लिए । भर्ना हुने बिरामीमध्ये पाँच हजार ६८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रबन्धक पारस अधिकारीले जानकारी दिए ।

अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर छ हजार ५५१ जनालाई सेवा दिएको थियो । अस्पतालले ७०० श्ययाको अनुमति लिएको छ । शुरुआतका वर्षमा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ जानेको सङ्ख्या ठूलो भए पनि हाल यो सङ्ख्या एक प्रतिशतभन्दा कम रहेको अधिकारीले दावी गरेका हुन् ।

यसैबीच, अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृति समेत पाइसकेको छ । विश्व हेपाटाइटिस डे (जुलाई २८) का अवसरमा आइतबारदेखि कलेजो प्रत्यारोपण सेवा शुरु गरेको हो ।

अस्पतालका निर्देशक डा. लम्सालका अनुसार चितवनमा नै पहिलोपटक हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलबाट दैनिकरुपमा यो सेवा उपलब्ध हुँदै आएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भइसकेको जानकारी दिँदै अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य रहेको बताए ।

उनका अनुसार बहिरङ्ग सेवामा कलेजो दिने र लिने दुवैको स्वास्थ्य परीक्षण, परामर्श सेवा दिइनेछ । न्यौपानेका अनुसार चितवन मेडिकल कलेज निजीमा सबैभन्दा बढी सङ्कायको पढाइ हुने कलेज हो । प्रविणता प्रमाणपत्र तह देखि स्नातकोत्तरसम्मको स्वास्थ्यसँग सम्बन्धित विभिन्न २६ वटा सङ्कायको पढाइ हुँदै आएको छ ।

न्यौपानेले सघन उपचार तथा बाल सघन उपचार कक्षजस्ता अत्यावश्यक जटिल उपचारमा पनि अस्पतालले सेवा दिइरहेको बताएका छन् । गङ्गालालपछिको मुटु रोगको उपचारमा चितवन मेडिकल कलेजलाई लिइने गरेको न्यौपानेको दावी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.