गभर्नरले मलाई सोध्नुभयो-‘एनआईसी एशिया बैंकको १० लाख कित्ता सेयर उठाएछौ, के भईराछ यहाँ भित्र ?’

  २०७६ साउन १२ गते १७:१६     विकासन्युज

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने ? खराव अवस्थामा पनि कसरी लाभ लिने ? मेरियट होटलबारे कुरा गरिसकेपछि हामीले सेयर बजारबारे केही प्रश्न गरेको थियौं । प्रस्तुत छ उनीसँगको सेयरवार्ता ।


सेयर बजारमा निकै तल गयो । यसको कारण के-के हुन सक्छन् ?
पुँजी बजारमा परिपक्वता छैन । दोस्रो बजारमा सेयर किन्दा प्रतिफल ज्यादै कम छ । पहिला बैंकबाट ६-७ प्रतिशत व्याजमा ऋण पाउँदा सेयर बजारमा लगानी गरेर फाइदा हुन्थ्यो । मुद्दतिमा ५-६ प्रतिशत भन्दा कम व्याज दिन्थे बैंकहरुले । त्यो अवस्थामा लगानीकर्ताले सेयर बजारमा पैसा लगानी गरेका थिए । अहिले बैंकहरुले निक्षेपमा १० प्रतिशत व्याज दिन्छन् । ऋणपत्रहरुमा १० प्रतिशतभन्दा बढी व्याज छ । बैंकबाट सेयर कर्जा लिनुपर्यो भने १३ प्रतिशतभन्दा कममा पाइदैन । यो अवस्थामा सेयर बजारमा लगानी गरेर फाइदा नै छैन । सेयरमा रेट अफ रिर्टन नै भएन ।

यो अवस्था कहिलेसम्म रहन्छ ?
बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । दुई दिनमा १०० अंकले बढ्छ । अहिले बजारमा पैसाको सर्कुलेशन नै कम छ । दैनिक सेयर कारोबार नै ५० करोडको हाराहारीमा छ । यो त निकै कम हो नि । बजारमा सुनसान नै छ ।

तत्काल बैंकले व्याज घटाउने सम्भावना छ ?

म देख्दिन । मौद्रिक नीतिले सबै बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्छ भनेको छ । ऋणपत्रको व्याज १० प्रतिशतभन्दा माथि छ । यसले निक्षेप र कर्जा दुबैको व्याज घटाउन मद्दत गर्दैन । दोस्रो, राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २१ प्रतिशत कर्जा विस्तार गर्ने भनेको छ । यति धेरै कर्जा विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकको छ भनेपछि बैंकहरुले लगानी बढाउने नै भए । बैंकमा कर्जामा माग पनि धेरै छ । यस्तो अवस्थामा लगानी योग्य पुँजीको अभाव नै हुन्छ बैंकलाई । त्यसैले तत्काल व्याज घट्छ जस्तो मलाई लाग्दैन ।

खराव परिस्थितिमा पनि राम्रा कम्पनीको सेयर किन्दा फाइदा हुन्छ भनिन्छ । अहिले कस्ता कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ?
म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । राम्रो पर्फमेन्स भएको, राम्रो व्यवस्थापन भएको कम्पनी छान्नुपर्छ । प्रतिफल ५ प्रतिशत दिने नराम्रो कम्पनी भन्दा ४ प्रतिशत प्रतिफल दिने राम्रो कम्पनी छान्नुपर्छ । सुरक्षित कम्पनी हुनुपर्छ ।

अहिले कस्ता कम्पनीमा सेयर लगानी गर्दा सुरक्षित हुन्छ ?

यस्तो कुरा गर्न मलाई थाहै हुन्न । हुन त मिडियाले मलाई ठूलो सेयर कारोबारी भनेर पनि लेखे । तर म दोस्रो बजारमा सेयर किनबेच गर्ने मान्छे होइन । मलाई इच्छा नै छैन ।

तपाईले ‘म ठूलो सेयरको कारोबारी होइन’ भन्नुहुन्छ । तर नेप्सेको जिम्मेवार अधिकारीहरुले तपाई नै यो देशको सबैभन्दा ठूलो सेयर खेलाडी हो भन्छन् । डाटाले त्यहि देखाउँछ रे त ?
त्यो हुँदै होइन । म सेयर कारोबार गर्ने मान्छे नै होइन, म कसरी ठूलो सेयर कारोबारी  ? नेप्सेले डाटा सार्वजनिक गरोस् न यो देशका ठूला सेयर कारोबारीहरुको नामसहित । मैले कुनै पनि आर्थिक वर्षमा ५ करोड भन्दा बढीको सेयर किनबेच गरेको रेकर्ड तपाईले पाउनुहुन्न । लुकाउनु पर्ने विषय पनि होइन । लुकाउन सक्ने विषय पनि होइन ।

बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ ।

५ करोड भन्नु भएको कि ५ अर्ब ?
५ करोड नै भनेको हो । प्रमोटर सेयरको कुरा चै फरक हो । हालसालै मैले प्रभु बैंकको १२ करोड रुपैयाँ बराबरको सेयर बेचेँ । केही समय अघि शिखर इन्स्योरेन्सको पनि ५ करोडको सेयर बेचेको थिएँ । तर ती सबै सेयर प्रमोटरबाट पब्लिक भएको सेयर बचेको हुँ । कारोबारी भएको भए म ती सेयर होल्ड गर्थे । म पब्लिक सेयर लिएर बस्दिन । प्रमोटर सेयरमा त लगानी गरिरहेको हुन्छु । जस्तै, अब हिमालयन बैंकको १०-१२ प्रतिशत प्रमोटर सेयर पब्लिक सेयरमा कन्भर्ट हुँदैछ । पब्लिक सेयरमा कन्भर्ट भएपछि म २५-३० करोडको सेयर बेच्छु । एनआईडीसीले नविल बैंकको प्रमोटर सेयर बेच्ने भयो । मैले करिव ३० हजार कित्ता अक्सनमा लिएँ । हकप्रद बोनस गर्दा अहिले ९० हजार कित्ता भयो होला । यो पनि पब्लिकमा कन्भर्ट हुँदैछ । अब म यो सेयर पनि बेच्छु । सेयर कारोबारी भनेको त कस्तो भने आज ८ करोडको सेयर किन्यो, भोलि १० करोडको बेच्यो । कारोबारी भनेको यस्तो हो । म त्यस्तो कारोबारमा छैन ।

तपाईले नेप्सेका जिएमको कुरा गर्नु भयो । अस्ति मलाई गभर्नरले फोन गर्नुभयो । उहाँ मेरो नजिकको साथी हुनुहुन्छ । ‘के हो तिमी त । एनआईसी एशियाको १० लाख कित्ता सेयर उठाएछौं । के छ त्यहाँ त्यस्तो  ?’ मैले भने– गभर्नर साव, तपाई त राष्ट्र बैंकको गभर्नर । तपाईसँग त सहि तथ्याङ्क हुनुपर्ने हो । मैले एनआईसी एशियाका जम्मा ८० हजार कित्ता सेयर लिएको हो । १० लाख के ? डेढ लाख कित्ता पनि लिएको छैन । कत्रो हल्ला भएको ?

मैले केही क्ल्यू पाए । ५०-६० रुपैयाँ फाइदा हुन्छ भन्ने चाल पाए । केही महिनामा ४०-५० रुपैयाँ फाइदा भयो । सबै बेचिदिए । त्यस्तो अपरच्युनिटी पाए भने अहिले पनि किन्छु । तर ५-१० रुपैयाँ खानको लागि डे टु डे सेयर किनबेच गर्दिन ।

म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न ।

तपाईले सेयरबजारमा घाटा खानुपरेको कम्पनी ?
केही कम्पनीमा घाटा हुन्छ । ग्राण्ड बैंकको प्रमोटर सेयर लिए । शुरुमा होइन, पछि लिएको । किन्दा किन्दा धेरै नै थियो । तर, बैंक व्यवस्थापन ज्यादै फितलो भयो । त्यसको व्यवस्थापन ज्यादै खराव रहेछ । भित्रभित्रै ध्वस्त भएको रहेछ । त्यो बैंक सस्तोमा मर्ज गराउन मैले धेरै प्रयास गरे । त्यतिमा पनि मर्ज नगरेको भए बैंक रन हुन्नथ्यो । पब्लिकको निक्षेप पनि डुब्थ्यो । सेयरधनीको पैसा पनि पुरै डुब्ने थियो । धन्न त्यो बैंक प्रभुले थाम्यो । पब्लिकले निक्षेप पनि फिर्ता पाए । हाम्रो लगानी पनि बच्यो । अहिले त प्रभु बैंक राम्रो भयो । त्यसमा गरेको लगानी १२ वर्षपछि उठ्यो । त्यसबाट फाइदा चाहिँ भएन ।

ग्राण्ड बैंकको पतनको कारण के थियो ?
खराव व्यवस्थापन । भित्र भित्र मुसाले जस्तै प्वालै प्वाल पारेको रहेछ । फेब्रिकेटेड व्यालेन्सिट रहेछ । खराव ऋणीलाई पनि नयाँ कर्जा दिएर कर्जाको व्याज उठाईरहेको रहेछ । नयाँ सीईओ आएपछि त्यो सबै खुल्यो ।

ग्राण्ड बाहेक तपाईले लगानी गरेको खराव कम्पनी ?
कुमारी बैंक पुरानो बैंक हो । यसमा गरेको लगानीले पनि प्रतिफल दिएन । यसको व्यवस्थापन चुस्त दुरुस्त भएन । कहिले व्यवस्थापन राम्रो भएन । कहिले बोर्डले, प्रमोटरले अनावश्यक हस्तक्षेप गरे । अहिलेको सीईओ राम्रो मान्छे हुनुहुन्छ । उहाँले राम्रो गर्नु हुन्छ कि भन्ने आशा छ ।

होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.