रेनल्टको कारोबारमा कमी, नाफा १ अर्ब १० करोड अमेरिकी डलरमा समेटियो

  २०७६ साउन १० गते १८:५९     विकासन्युज


पेरिस, फ्रान्स । फ्रान्सको प्रसिद्ध कार कम्पनी रेनल्टको कारोबारमा सन् २०१९ को पहिलो छ महिनामा अत्याधिक गिरावट आएको उक्त सवारीसाधन निर्माण कम्पनीले जनाएको छ । रेनल्टले आफ्नो कारोबारमा देखिएको वर्तमान् सङ्कटलाई जापानी कम्पनी निस्सानसँगको सहकार्यका क्रममा गत बर्षदेखि देखिएको विवाद जिम्मेवार रहेको बताएको छ ।

रेनल्टले शुक्रबार एक विज्ञप्ति जारी गरी कम्पनीको खुद् नाफामा गत बर्षको तुलनमा झण्डै आधा रकमको गिरावट देखिएको बताएको छ । विज्ञप्ति अनुसार रेनल्टको यस बर्षको जनवरीदेखि जुनसम्मको खुद नाफा एक अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । जबकि सन् २०१८ को सोही अवधिमा उक्त कम्पनीको नाफा एक अर्ब ९५ करोड २० लाख अमेरिकी डलर रहेको थियो ।

“आम्दानीमा निस्सानको योगदानका कारण व्यापक गिरावट आएको छ,” फ्रान्सेली सवारीसाधन निर्माण कम्पनीले भनेको छ । जापानी कम्पनी निस्सानमा रेनल्टको ४३ प्रतिशत शेयर रहेको छ । निस्सानले चौमासिक नाफामा नाटकीय कमी आएको जनाउँदै यसै हप्ता १२ हजार ५०० रोजगारी कटौतिको घोषणा गरेको थियो ।

निस्सानले आफ्नो कम्पनीका पूर्व प्रमुखको पक्राउ र निस्सानद्वारा उत्पादित गाडीकोे खस्किएको बजारका कारण भएको कमजोर व्यापार नै कारोबार रकममा आएको गिरावटको कारक भएको जनाएको छ । गत बर्ष फ्रान्सेली कार कम्पनी रेनल्टको नाफामा निस्सानले आठ अर्ब पाँच करोड यूरोको योगदान गरेको जापानी सवारीसाधन निर्माता कम्पनी को दावी छ । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.