क्रिकेट रङ्गशाला बनाउन उद्योग वाणिज्य सङ्घले दियाे ५५ लाख

  २०७६ साउन ९ गते १२:५२     विकासन्युज

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले  ५५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको उक्त रङ्गशाला निर्माणका लागि साे रकम सङ्घले प्रदान गरेकाे हाे ।

सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पुर्याउने जानकारी दिएका छन् । यसअघि नै सङ्घले रङ्गशालाका लागि  एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले पनि  दुई लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका हुन्।

यसैगरी, रङ्गशालाका लागि आवश्यक पर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्न थालेकाले आफू उत्साहित भएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्ने क्रम शुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गरेका छन् ।

जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम शुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा सो रङ्गशाला निर्माण गर्न लागिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.