सन् २०१९ मा नेपाल आउने पर्यटक बढे, भारतबाट सबैभन्दा बढी

  २०७६ साउन ८ गते १५:२६     विकासन्युज

काठमाडौं । अध्यागमन बिभागले दिएको तथ्यांक अनुसार सन् २०१९ जनवरीदेखी जुनसम्म ५ लाख ८५ हजार ५ सय ३१ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष यसै समयमको तुलनामा पर्यटक आगमन यो १२.६० प्रतिशतले बृद्धि हो । गत वर्ष सन् २०१८ मा ५ लाख २० हजार १४ पर्यटकहरु नेपाल भित्रिएका थिए ।

सार्क मुलुकबाट नेपाल आउने पर्यटकहरुको संख्या १ लाख ४४ हजार ९ सय ५७ रहेको छ । अघिल्लो वर्ष जनवरीदेखी जुनसम्मको तुलनामा यो २४.८ प्रतिशतले बृद्धि हो । सार्क मुलुकमा सबैभन्दा बढी भारतबाट १ लाख ३ हजार ४ सय ६१ पर्यटकहरु नेपाल भित्रिएका छन् ।

दोस्रोमा श्रीलंका, तेस्रोमा बंगलादेश रहेका छन् । श्रीलंकाबाट २८ हजार ७ सय ९० र बंगलादेशबाट १० हजार ५ सय ९० पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा कम पर्यटक भित्रिने देश पाकिस्तान रहेको छ । पाकिस्तान र बंगलादेशबाट आउने पर्यटकको संख्या तुलनात्मक रुपमा गत वर्षको तुलनामा घटेको छ । पाकिस्तानी पर्यटकको आगमनमा १४.४४ प्रतिशत र बंगाली पर्यटकको संख्यामा २४.३३ प्रतिशतका दरले कमी आएको हो ।

सार्क मुलुकबाहिरको तथ्यांक केलाउने हो भने सबैभन्दा बढी नेपाल भित्रिनेमा चाइनिज पर्यटक पर्छन् । अघिल्लो वर्ष सन् २०१८ को जनवरीदेखी जुनसम्म ७१ हजार ३ सय ७९ चाइनिज पर्यटक नेपाल भित्रिएका थिए । यस वर्ष ठ्याक्कै यही समयमा ८५ हजार ३ सय १८ चाइनिज पर्यटकहरु नेपाल घुम्न आएका छन् । यो गत वर्षको तुलनामा १९.५३ प्रतिशतले बृद्धि हो ।

एसियन मुलुकबाट एक लाख ७४ हजार २७ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष १ लाख ४४ हजार ३५ पर्यटकले नेपाल पाइला टेकेका थिए । गत वर्षको तुलनामा यो २०.८२ प्रतिशतले बृद्धि हो । युरोपियन मुलुकबाट भित्रिने पर्यटकहरुको संख्या १ लाख ४ हजार ७ सय ८३ सिमित थियो । अहिले त्यो संख्या बढेर एक लाख २ हजार ४ सय ४ पुगेको छ । गत वर्ष भन्दा यो २.३२ प्रतिशतले बृद्धि हो ।

त्यस्तै अस्ट्रेलियाबाट १६ हजार ७ सय ६१, अमेरिकाबाट ४८ हजार २ सय १, क्यानाडाबाट ९ हजार १ सय ५३ पर्यटक नेपाल भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.