युरोपकाे सबैभन्दा ठूलाे बैंक ‘डच बैंक’ ३ अर्ब ६० करोड डलर घाटामा, २२ हजार कर्मचारी हटाइने

  २०७६ साउन ८ गते १४:४९     विकासन्युज

फ्रान्कफर्ट । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक ‘डच बैंक’को दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ ।

बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका र त्यसले नतिजा दिन थालिसकेको बताएका छन् ।

यसै महिनाको शुरुमा डच बैंकले सन् २०२२ सम्ममा विश्वभर छरिएर रहेका बैंकका करिब २२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । साथै, बैंकले शेयर कारोबारमा लगानी कम गर्ने तथा जर्मनी र युरोपेली मुलुकमा मात्र आफूलाई केन्द्रित गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यसअघि दशौं वर्ष डच बैंकले अमेरिकी वालस्ट्रिटसँग प्रतिस्पर्धा गर्ने क्रममा बैंकको सञ्चालन खर्च ह्वात्तै बढेको थियो । बैंकले आफ्नो वार्षिक खर्चमा पनि झण्डै छ अर्ब युरो कटौती गर्ने योजना बनाएको छ ।

यसै वर्षको अप्रिलदेखि जुन महिनामा डच बैंकको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २० करोड युरो कमी भएको थियो ।

यसैबीच, डच बैंकले गरिरहेका कतिपय व्यापारिक कृयाकलापहरु बिक्री गर्न फ्रान्सेली बैंक बिएनपी परिवाससँग वार्ता जारी छ । डच बैंकले यही सिलसिलामा झण्डै ९०० कर्मचारी हटाइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.