असली रामेन भित्र्याए अर्जुनले, भन्छन्-‘१७ वटा व्यवसायमा फेल खाएँ, अब जम्छु’

  २०७६ साउन ७ गते १६:३७     डाेमी शेर्पा

काठमाडाैं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट भित्र खोलिएको होकाईडो रामेन हाउस गत शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जापनिज प्रख्यात फास्ट फुड हो रामेन । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको झोलमा पस्किने गरिन्छ । साथै बङ्गुरका तासिएका मासु, समुद्री लेउ, मेनमा र हरिया प्याज पनि खानाको माथिपट्टी राखिएर सजाईन्छ । ठाउँ अनुसार रामेनका बनावट शैली फरक पर्ने पनि हुन्छ ।

करिव २ दशक जापानमा विताएको अर्जुन अधिकारीले १७ जना जापानिजको समेत सेयर लगानीमा होकाईडो नेपाल विजनेश ग्रुप प्रा.लि. खोले । नेपालमा धेरै अध्ययन गरिसकेपछि उनले रामेन अर्थात जापानको प्रख्यात नुडल्सलाई नेपालमा भित्राउने निर्णयमा पुगे ।

अर्जुन नेपालका धेरै जापानिज रेस्टुराहरुमा गए । तर धेरैमा उनले रामेनको स्वाद भन्दा पनि मैदाको स्वाद बढी पाए । त्यही कुरालाई ध्यानमा राख्दै उनले शुद्ध जापानी स्वादको रामेन खुवाउने रेस्टुरा खोलेका हुन् । उनले होटलका सेफ जापानबाटै भित्र्याएका छन् । उनले रामेनसँग सम्बन्धित मोमो, फ्राइ चिकेन, फ्राइ राइसलाई पनि रेस्टुराको मेनुमा राखेका छन् ।

जापानको निकै लोकप्रिय, सस्तो र स्वस्थ फास्टफुड हो, रामेन । धेरै नेपालीहरुको दिमागमा भने नेपालमा पछिल्लो पटक एकदमै फेमस भएको रातो प्याकेटमा रामेन लेखेको नुडल्स हो । ‘खास त्यो असली रामेन भने होइन्’ अधिकारी भन्छन्, ‘सोलु, नाम्चेबजारमा पाइने सुपमा केही नगरि सिधा थुक्पा राखिने सरह हो हाम्रो रामेन ।’ जापनिज खानेकुराको एउटा जटिल पाटो भनेको यसमा नुन मात्र लिएर खानेकुराको स्वादसँग खेल्नुपर्ने उनी बताउँछन् ।

रामेनलाई एक दुई दिनको व्यावसाय भन्दा पनि दीर्घकालिन रुपमा लैजान खोजेका छन् उनले । यसमा सफलता पाए काठमाडौंका ठाउँठाउँमा बिस्तार गर्ने उनको सोच छ । सेन्ट्रल किचेनबाट उनी सबैतिर फ्रेस रामेन पठाएर व्यापार गर्ने योजना बनाएका छन् । उनले यही व्यवसायमा लाग्नुको मुख्य उद्देश्य भनेको नेपालीहरुलाई जापनिज स्वाद चखाउनु हो । आफूले जसरी जापानमा नेपाली खानाको बारेमा बुझाउन पाए उनी अब त्यही नेपालमा गर्न चाहन्छन् ।

अर्जुनले रेस्टुराँ  खोलेको करिब २ महिना भईसकेको छ । तर औपचारिक रुपमा गत शुक्रबार उद्घाटन गरिएको छ । उनी बाहिरी मिडिया र बजारमा भने आएका छैनन् । उनी हाल रिसोर्टमा खान आउने मानिसहरुबाट राय संकलन गर्दैछन् । र, जति मानिस आए सबै सन्तुष्ट छन् । अब भने छिट्टै नै मिडिया मार्फत बजारमा आउने उनको योजना रहेको छ । यसमा सफल भए उनको काठमाडौंको अन्य ५/६ क्षेत्रमा यसको शाखा खोल्ने योजना रहेको छ ।

उनले हाल त्यसैको लागि मास्टर किचेन बनाईसकेका छन् । उक्त किचेनमा एकदिनमा ३ हजार मानिसका लागि रामेन बनाउन सक्ने क्षमता रहेको उनी बताउँछन् । यही व्यवसायलाई बिस्तार गरेर ३ वर्षभित्रमा ३० जना मालिक बनाउने योजना छ उनको । त्यसको लागि उनी जापानबाट फर्केर आएका मानिसहरुलाई यस व्यवसायमा संग्लन गराउन चाहन्छन् । कम्तिमा पनि २० लाख रुपैंयाँमा यसको आउटलेट खोल्न सक्ने बनाउने योजना छ । त्यसमा सबै खानाको कच्चा पदार्थहरु आफ्नै सेन्ट्रल किचेनबाट ठाउँठाउमा पुर्याउने अर्जुनको योजना रहेको छ ।

अर्घाखाँचीका  अर्जुन, जापानकाे अनुभव

अर्जुन अधिकारी अर्घाखाँचीमा जन्मिए । परिवारमा उनका दाई पर्यटन व्यवसायमा होमिईसकेका थिए । दाईको प्रभाब अर्जुनमा नपर्ने कुरै भएन । पोखरामा अध्ययन सकेपछि अर्जुन काठमाडौं फिरे ।

काठमाडौं अर्थात सपनाको शहर । काठमाडौं पाइला टेक्नु अगाडी युवाहरु अनेक सपना बुन्ने गर्छन् । मनभरी मीठो कल्पना सजाउछन् । तर काठमाडौंको नाका छिरिसकेपछि यहा अनेकौं हन्डर, ठक्कर खानुपर्छ । तर अर्जुनले त्यति धेरै हन्डर ठक्कर झेल्नु परेन । अर्जुनका दाईले होटल खोलिसकेका थिए । उनले त्यही होटलका लागि मार्केटिङ गर्ने काम शुरु गरे । यो काम गर्दागर्दै उनलाई पर्यटक भिसामा जापान जाने मौका मिल्यो ।

जापान पुगेपछि अर्जुनले एउटा ठूलै होटेलमा काम गर्ने अबसर पाए। त्यो काम पाउन जापानमै बसिरहेका उनका साथीले सघाए । जापान बसाईको क्रममा अर्जुनले धेरै कुरा सिके । जापान बस्दा उनलाई दुई वटा कुरा खुब चित्त बुझे । पहिलो हावापानी, दोस्रो जापानीको काम गर्ने शैली ।

बिचमा नेपाल फर्किएर उनले लामो समयका लागी भिसा लिएर जापान फर्के । सन् २००१ देखी २००४ सम्म आधा समय नेपाल हुन्थे, आधा समय जापान । काम गर्दै जाँदा अर्जुनलाई आफ्नै व्यवसाय गर्ने रहर पलायो । जुन पेशा उनले अंगाल्दै आएका थिए, त्यसैमा आफ्नो भविष्य बनाउने सपना देखे ।

अन्ततः सन् २००५ को नोभेम्बरमा अर्जुनले आफ्नै व्यवसाय सूरु गरे । जापानमा नेपाली स्वाद चखाउँनका लागि उनले नेपाली रेस्टुरेन्ट खोले । नाम राखे –बिस्तारै बिस्तारै । व्यवसायको सुरुवाती दिनहरुमा उनलाई एकदमै गाह्राे भयो । सुरुवाती दिनमा उनीसँग पर्याप्त पैसा थिएन । व्यवसाय पनि खासै राम्रो चलेन । रेस्टुरेन्टको व्यापार नाफा घाटा चलिरह्यो । उनले हिम्मत हारेनन् । कहिल्यै निरास भएनन् ।

‘विस्तारै–विस्तारै’ को सफलतापछि
समय सधैं एकनासले कहाँ चल्छ र ? बिस्तारै नाफा कमाउँदै गए । रेस्टुराँको नाम बिस्तारै बिस्तारै जस्तै व्यापार पनि त्यस्तै भयो । बिस्तारै–बिस्तारै यसरी उकालो लाग्यो कि जापानमा यसका १६ ठाउँमा शाखा बिस्तार भए । शाखा खोल्दै जाने क्रममा रेस्टुराँमा काम गर्ने साथीहरुलाई पनि थोरै थोरै गरेर तलबबाट रकम काट्दै सेयर हाल्न लगाए । उनले रेस्टुराँको ८० प्रतिशत जिम्मेवारी जापनिजलाई दिए । किनभने जापनिजहरु काम गर्नमा पोख्त थिए । जापानमा छोटो समयमै प्रगती गर्ने थोरै मानिसमा उनी पनि पर्छन् अर्जुन ।

जापानको होकाईडो गाउँमा अर्जुनको सबैभन्दा धेरै समय बित्यो । गाउँमा उनले सबैबाट निकै माया पाए । त्यसमा पनि बुवा समान जापनिजहरुले उनलाई धेरै माया दिए । सहयोग गरे । पहिलेदेखी नै पर्यटन क्षेत्रमा हात हालेका उनलाई जापनिजहरुले नेपाल भारतमा पर्छ भनेको सुन्दा सार्है नरमाइलो लाग्थ्यो । आफ्नो देश जापनिजहरुलाई सानो लागेको कुरा उनलाई फिटिक्कै चित्त बुझेन । यहि भ्रमलाई मेटाउन उनले त्यहीँका आफ्ना रेस्टुराँमा काम गर्ने नेपाली दाजुभाइसँग मिलेर नेपाल डे मनाउने निर्णय गरे । दसैं जस्ता चाडपर्वमा नेपाल सम्बन्धि बिशेष दिन मनाउन थाले । र, जापनिजहरुलाई नेपाल घुम्न जान आग्रह गरे । जापनिजहरुलाई नेपाल घुम्न सल्लाह सुझाव दिने थाले । त्यसयता उनको सिफारिसमा २ सय ७० भन्दा बढी जापनिजले नेपाल घुमिसकेका छन् ।

नेपालीहरु जापान ओइरिने क्रम रोकिएको थिएन । सबैको नेपालप्रति गुनासो हुन्थ्यो । उनी भने दोधारमा थिए । उनीहरुले न त नेपाललाई पुरै छोड्न सके न त जापानलाई पूर्ण रुपमा अंगाल्न नै सके । यही कारण उनलाई नेपालमै केही गर्नुपर्छ भन्ने सोच आयो । उनले नेपालमा सुरुमा २ वटा व्यवसायबाट काम सुरु गरे । व्यवसाय विस्तारको क्रममा उनले १७ वटा व्यवसायमा हात हाले ।

तर अर्जुनलाई शायद समयले साथ दिएन । उनी यी सबै व्यवसायमा बिफल भए । आफू सबैमा बिफल हुनुको कारण खोज्दै गर्दा मानिसहरुलाई चाँडै विश्वास गर्ने र एक फोन कलको भरमा र नमस्कारको भरमा मानिसँग डिल गर्ने बानी भएको निष्कर्षमा पुगे । आफ्ना व्यवसाय उनले बेच्ने निर्णय गरे । आफ्नो लगानी डुबाए । जति उनी बिफल हुँदै गए, त्यति म को हुँ भन्ने कुरामा अलमल्ल पर्न थाले ।
परिवारका सदस्यहरु उनलाई जग्गा किनेर फाईदा लिएर बसोस् भन्ने चाहन्थे । तर उनी भने अझै केही व्यवसाय गर्न चाहन्थे । परिवारका सदस्यले धेरै कराए, गाली गरे । तर अहँ, उनलाई केही गर्नु थियो नेपालमा ।

र, त्यही आशाको साथ अर्जुन नेपालमा आफ्नो जापानको लोकप्रिय खाजा रामेन नुडल्सलाई पूर्ण जापानिज विधि अपनाइ रामेनको असली स्वाद लिएर आएका छन् ।

करिब ३ करोड रुपैंयाँ लगानी गरेर ल्याईएको यो व्यवसायलाई उनी अब भने कुनै पनि हालतमा खस्किन नदिने सोचमा छन् । रामेन चेन रेष्टुरेन्टमा सफलता हासिल गरेमा नेपालको पर्यटन व्यवसायमा उनी र उनको जापानी टोली नयाँ सेवाको क्षेत्रमा लगानी विस्तार गर्ने सोचमा छ । विगतमा १७ वटा व्यवसायमा असफल भए पनि अब जम्मे उनको दृढ विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.