दश वर्षदेखिको अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

  २०७६ साउन ३ गते १३:२६     विकासन्युज

रोल्पा । शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ ।

पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । सत्र महिनाभित्र निर्माण कार्य सक्ने गरी जिल्लास्थित एसियाटिक राज जेवी कन्सट्रक्शनले निर्माणको जिम्मा पाएको थियो ।

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे उक्त पुल ११ महिनामा सम्पन्न भएको हो । रू तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिएका छन् ।

“सम्झौता अनुसारको मेरो जिम्मेवारी पूरा गरी सरकारलाई बुझाइसकेको छु”, ‘प्रोपाइटर’ घर्तीले भने । सो पुलबाट केही दिनभित्रै गाडी आवतजावतका लागि छोडिने छ ।

०६५ सालमा सडक विभागमार्फत गरिएको बोलपत्रमा काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो । शुरुआती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयवासीले आरोप लगाएका थिए ।

निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक सङ्घसंस्थाको टोली सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा पुगेर पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र सञ्चालन गर्न जोड दिएका थिए ।

दुई वटा पिलर ठड्याएर रू एक करोडभन्दा बढी रकम भुक्तानी पनि निर्माण व्यवसायी दशौदीले निर्माणका क्रममा आफ्नो निर्माण सामग्री हराएको भन्दै क्षतिपूर्तीको माग गर्दै आलटाल गरेकाले पुल अलपत्र भएको थियोे । स्थानीय राजनैतिक दल र नागरिक समाजको दबाबका कारण दोस्रो गरिएको बोलपत्र पछि उक्त पुल निर्माण भएको हो ।

वैकल्पिक व्यवस्थाका लागि भन्दै सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या हुँदै आएकामा पुल निर्माणसँगै सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताएका छन् ।

पुल निर्माण स्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमासमेत निकै चुनौती व्यहोर्दै आएका थियौँ अब सो समस्या समाधान हुने भयो व्यवसायी थापाले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.