वार्षिक ८ करोडको पोते आयात, साउन महिनामा हरियो रङको माग

  २०७६ साउन ३ गते १२:०७     डोमी शेर्पा

काठमाडौँ । नेपाली महिलाहरुले गहनाको रुपमा लिने पोते नेपालमा वार्षिक ८ करोडको हाराहारीमा भित्रने गरेको छ ।

देशभर बिक्री हुने पोतेको निर्यात काठमाडौँको इन्द्रचोकबाट हुने गरेको हो ।

इन्द्रचोकमा रहेको फिरोज स्टोर विदेशबाट पोते आयात गर्ने एक मात्र कम्पनी हो । जसले विभिन्न डिलर मार्फत देशभर पोते पठाउने गरेको छ । जापान, चेकस्लोभाकिया र चीनबाट नेपालमा पोतेको आयत हुने गर्छ । जापानको पोते अन्य देशको तुलानामा महंगो र राम्रो मानिन्छ ।

यस्तै चेकस्लोभाकियाबाट आयत हुने पोते मध्यस्तरको हुने र चीनबाट आयत हुने सामान्य खालको हुने गरेको व्यवसायीहरु बताउँछन् । केही समय अघि भारतबाट पनि नेपालमा पोते आयत हुन्थ्यो । तर त्यहाँबाट आउने पोतेको गुणस्तर राम्रो नभएकाले अहिले आउँदैन–ईन्द्रचोकमा १० बर्ष देखी पोतेको व्यवसाय गर्दै आएका आयुप हुसनले बताए ।

इन्द्रचोकमा पोतेको ठूलो बजार
काठमाडौँको मुटुको रुपमा चिनिने इन्द्रचोकमा पोतेको ठूलो बजार छ । नयाँ नयाँ डिजाइनका पोते छानीछानी किन्नका लागि धेरै महिनाहरु इन्द्रचोक पुग्ने गर्छन् । हिन्दु र बौद्ध धर्माबलम्बीहरुले पोतेलाई गहनाका रुपमा लिन्छन्, तर इन्द्रचोकमा पोतेको ब्यापार गर्नेहरुमा चाँही मुस्लिम समुदायको बाहुल्यता देखिन्छ ।

कुन सिजनमा कारोबार बढी ?
पोतेको कारोबार हरितालिका तीज, साउन र विवाहका लगन भएको महिनामा बढी हुने गरेको छ । इन्द्रचोकमा लामो समय पोतेको ब्यवसाय गर्दै आएका हुसन भन्छन्–‘तीजको समयमा एकै दिनमा १ लाखसम्मको ब्यापार हुन्छ ।’ अरु बेला सामान्य ब्यापार हुन्छ, तीजको ब्यापारले वर्षभरी कभर गर्छ–उनले भने ।

तीज र लगनको समयमा सबै रङका पोतेहरु बिक्री हुन्छ भने साउन महिनामा हरियो र पहेलो रङका पोते बिक्री हुने उनले बताए । साउन महिना शुरु भएको छ, तीज पर्व पनि नजिकिँदै छ । तर, विगतका वर्षमा पोते किन्न आउनेको भीड हुन्थ्यो, तर यो वर्ष अहिलेसम्म ग्राहकको चाप खासै नरहेको हुसन बताउँछन् ।

पोतेः आयात विदेशबाट, डिजाइन नेपालमै
पोते नेपालमा बन्दैन, विदेशबाट आयात हुने पोतेलाई डिजाइन बनाउने, रंगहरु सम्मिश्रण गर्ने, धागोमा उन्ने कामहरु भने नेपालमै गरिन्छ । दिनहुँ लगाईने पोतेको मूल्य१० रुपैयाँदेखी डेढ सयको हाराहारीमा पर्छ । सुन जस्ता बहुमुल्य सामानमा प्रयोग गर्ने पोतेहरुको मुल्य ३०० सय देखि ७ हजारसम्म पर्छ । सस्तोको नभएपनि महङ्गा पोतेको भने ग्यारेन्टी पनि हुने व्यवसायीहरु बताउँछन् ।

नेपाली समाजमा के छ पोतेको महत्व ?
पोतेको नेपाली समाजमा आफ्नै महत्व छ । विवाहको दिन युवतीले पोते पहिरिएपछी नछुट्टाई लगाउनु पर्छ भन्ने मान्यता छ । महिलाहरुले पोते लगाउँदा श्रीमान्को आयु लामो हुन्छ भन्ने विश्वास । हिन्दु महिनाहरुले विवाहपछि घाँटीमा पोते लगाउँछन् । अन्य कपडा र श्रृंगारमा सामाग्रीमा समेत पोतेको प्रयोग गर्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.