१ वर्षमा सम्पन्न भए ५ सय ४५ आयोजना, ५ लाखले पाए खानेपानी

  २०७६ साउन २ गते १४:२४     विकासन्युज

काठमाडौं, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५ सय ४५ वटा आयोजनाहरु सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजनाहरु सम्पन्न भईसकेकाले यसबाट करिब ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजनाहरु, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित आयोजनाहरु गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजनाहरु सम्पन्न भएको जानकारी दिए ।

त्यस्तै खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजना अन्तर्गत ९ वटा आयोजनाहरु सम्पन्न भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको बिरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् ।

त्यस्तै सहलगानी अन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् । तेस्रो साना सहरी र सहलगानी अन्तर्गत सम्पन्न भएका आयोजनाहरु ठूला आयोजना भित्र पर्दछन् । मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणा बमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्त सम्ममा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए ।

खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये चालु आर्थिक वर्षभित्र १२ वटा आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाईन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भईसकेको पिआइडीले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य अन्तर्गत सुरुङ मार्ग र हेड वक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्याङ्कन भईरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची आयोजना दोस्रो चरणको लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य सुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको गत २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो ।

खानेपानी मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मुल विधेयक तयार गरेर प्रतिनिधि सभामा दर्ता गराई पेश गरेको छ । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाई विधेयक तयार भई संसदमा पेश भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.