बीमा कम्पनीले पुर्याएनन् पूँजी, बीमा समिति भन्छ-‘एकसाता भित्र कारवाही’

  २०७६ साउन २ गते ११:३६     विकासन्युज

काठमाडौँ । बीमा कम्पनीहरुले बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । समितिले आर्थिक वर्ष २०७५/७६ सम्म चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई एक अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

पूँजी पुर्याउन नसकेपछि मर्जर जानुको विकल्प नभएको पनि बीमा समितिले बताएको छ । बीमा समितिले २०७३ माघ १३ गते पहिलो निर्देशिका जारी गर्दै बीमा कम्पनीहरूलाई चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । त्यसपछि पनि समितिले दुई पटक समय थपिसकेको छ ।

उक्त निर्देशिकाले २०७५ असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । सो अवधिमा पूँजी नपुर्याएपछि २०७५ पुससम्म म्याद थपेको बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले बताए । यो अवधिमा कम्पनीहरूले निर्देशिकामा उल्लेख गरेअनुसारको पुँजी पुर्याउन नसकेपछि २०७६ असार मसान्त सम्म पुनः म्याद थपिएको थियो । तर, यो अवधिसम्म पनि अधिकांश बीमा कम्पनीहरूले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् ।

एकसाता भित्र कारवाही
पूँजी नपुर्याउने बीमा कम्पनीहरूलाई अब भने बीमा समितिले एक साताभित्र कारवाही प्रक्रिया अघि बढाउने भएको छ । समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले तोकेको सयममा पूँजी नपुर्याउने कम्पनीहरुलाई कारबाही गर्ने प्रक्रिया एक साताभित्र अघि बढाउने बताए ।‘के कस्तो कारबाही हुन्छ यस विषयमा भने संचालक समितिको बैठकले निर्णय गर्नेछ–उनले भने ।

चालु आवमा के गर्दै बीमा समिति ?
समितिले बीमामा पहुँच बढाउन आगामी आवमा घुम्ती बीमा मार्फत बीमाको व्यापक प्रचार–प्रसार गर्ने कार्यक्रम पनि अघि सारेको छ । ‘घुम्ती बीमा मार्फत बीमा चेतनाको व्यापक प्रचार–प्रसार गर्न जुटने छौं,’ उनले भने ।

अघिल्ला आर्थिक वर्षमा हुँदै आएका काम–कारबाहीलाई थप समृद्ध बनाई बीमाको पहुँच बढाउने बीमा समितिको योजना छ । विगतमा भए गरेका कमी–कमजोरी सुधार गर्दै प्रविधि मैत्री बनाउने योजना बनाएको छ ।

यस आवमा समितिले पूर्ण रुपमा एनएफआरएस प्रणाली लागू गर्ने भएको छ । बीमा कम्पनीहरूले हालसम्म दुई वटा वित्तीय विवरण निष्काशन गर्दै आएका छन् । यस आवदेखि सबै बीमा कम्पनीले एउटामात्र ब्यालेन्स सिट बनाउने छन्-अध्यक्ष चापागाईँले बताए ।

जीवन बीमातर्फ मात्र हुँदै आएको बिमाङ्कीय मूल्याङ्कन अब निर्जीवन बीमा र पूनर्बीमा तर्फपनि हुने लागू हुनेछ । राज्यको पुनर्बीमा नीति समेत यसै आर्थिक बर्षमा बीमा क्षेत्रले प्राप्त गर्ने अध्यक्ष चापागाईँले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.