कोरियाबाट फर्केका दीपक चापागाईँ स्वदेशमा उद्यम गर्न उत्साहित

  २०७६ साउन १ गते १५:३७     सुनिता पुडासैनी


काठमाडौँ । झापा जिल्लाका दीपक चापागाईँले ५ वर्षसम्म दक्षिण कोरियामा पसिना बगाए । उनी अहिले दक्षिण कोरियामा छैनन्, तरपनि श्रम गर्ने र पसिना बगाउने क्रम निरन्तर चलिरहेको छ । सन्दर्भ फेरिएको छ, दक्षिण कोरियामा श्रमिकका रुपमा पसिना बगाउँथे भने अहिले स्वदेशमै आफ्नै ठाउँमा उद्यम गरिरहेका छन् ।

दैनिक हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा गइरहेका छन् । रोजगारीको अभाव भएपछि वैदेशिक रोजगारीको बाटो लिन बाध्य हुन्छन् नेपाली । वैदेशिक रोजगारीमा गएर कमाएको पैसाले स्वदेश फर्केर उद्यम गर्ने र आर्थिक उन्नती गर्ने नेपालीहरु धेरै छन् । यस्तै मध्येका एक युवा हुन् दीपक चापागाईँ ।

लामो समय वैदेशिक रोजगारबाट फर्किएर स्वदेश मै उद्यम गर्ने उनलाई हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान सहित पुरस्कार वितरण गरेको थियो । सोही अवसरमा उनले नेपालमा कृषिमा यान्त्रिकरण, उद्योगलाई औद्योगिकरण र पर्यटनलाई प्रवद्र्धन गर्दै अगाडि बढ्नु पर्ने बताए । वैदेशिक रोजगारीका भोगाई र सिकाईलाई आत्मसात गर्दै कोरियाबाट फर्केर आफ्नै देशमा उद्यम गर्न थालेको बताए ।

कोरियाबाट फर्केको केही समय केही काम नगरी बसे, तर केही नगरी बस्नै सकेनन् । उनी बैदेशिक रोजगारीमा गएर रातदिन नभनी कमाएको पैसा स्वदेश फर्केर उद्यममा लगाउन अरु युवाहरुलाई सुझाव दिन्छन् ।

७० लाखको लगानीमा डायमण्ड स्टिल उद्योग
दीपकले झापाको कन्काईमा एकवर्षअघि ७० लाखको लगानीमा डायमण्ड स्टिल उद्योग स्थापना गरे, उद्योग राम्ररी चलेको छ । उनले भने–‘कम्पनी बिस्तार भएर २ करोडको भएको छ ।’

उनले डायमण्ड स्टिल उद्योग सञ्चालनबाट मात्र चित्त बुझाएका छैन । अरु विभिन्न क्षेत्रमा काम गर्ने सोचाई छ उनको । साथीहरु मिलेर भरोसा विजनेस ग्रुप बनाएका छन् । उक्त ग्रुपमा संलग्न व्यक्तिहरुले प्रतिव्यक्ति ११ लाखका दरले रकम जम्मा गरी १० करोड जम्मा पारेका छन् । ४८ कट्ठा जग्गा लिएर माछाले खाने दाना उत्पादन गर्ने उद्योग निर्माणको काम भइरहेको उनले बताए ।

त्यस्तै १६ करोड ७० लाख रुपैयाँ वायो ग्यास निर्माणको काममा पनि उनी संलग्न भएका छन् । ४० प्रतिशत लगानी विश्व बैंकले गर्ने र झापाका ३ नगरपालिका विर्तामोड, कन्काई, अर्जुनधाराले सो प्लान्ट निर्माणमा सहयोग गरेका छन् ।

कसरी पुगे दक्षिण कोरिया ?
विस २०३८ सालमा तेह्रथुम जन्मिएका चौलागाईँले १७ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । ब्याचलरसम्मको अध्ययन गरेका उनी २०५८ सालदेखि नै व्यापार व्यवसायमा लागेका हुन् ।

शुरुमा इलाममा जुत्ता चप्पल बिक्री गर्ने व्यवसाय गरे । त्यसबीचमा रेमिट्यान्स र काठ व्यापारको कामपनि गरे, तर उनी त्यतिबेला व्यापारबाट उभो लाग्न सकेनन् । उनलाई ३० लाख रुपैयाँ ऋण लाग्यो । ईपीएस भाषा परीक्षा पास गरी सन् २०११ अप्रिल १० मा उनी रोजगारी गर्न दक्षिण कोरिया गए ।

कोरियामा उनले प्लाष्टिकका सामग्रीहरु उत्पादन गर्ने कार्य गरे । करिब २ वर्ष उक्त कम्पनीमा काम गरेपछि उनले पानी जहाज निर्माण कम्पनीमा काम पाए । त्यसपछि बिस्तारै आर्थिक स्थितिमा सुधार हुँदै गयो-उनले आफ्नो जीवनका उतार चढाववारे विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.