सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय ३ महिना थप, निजी क्षेत्रका सबै कम्पनीलाई अनिवार्य

  २०७६ साउन १ गते ११:५३     विकासन्युज

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनको लागि तीन महिना समय थप गरेको छ । सामाजिक सुरक्षा कोषले साउन १ गते सार्वजनिक सूचना प्रकाशित गर्दै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचिकृत हुने समय असोज मसान्तसम्म थप गरिएको जनाएको छ ।

यसअघि असार मसान्तसम्ममा सूचिकृत हुनुपर्ने व्यवस्था गरिएको थियो । गत मंसिर ११ गते घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा असार मसान्तसम्ममा ३८ सय कम्पनी दर्ता भएका छन् । त्यसमा करिव २० हजार श्रमिक सूचिकृत भएको कोषका प्रबक्ता रमा भट्टराईले बताइन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागि हुनेको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । त्यसमा रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यसअघि कर्मचारी सञ्चय कोषमा वा नागरिक लगानी कोषमा आवद्ध निजी क्षेत्रका कम्पनीहरु, श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनै पर्नै भट्टराईले बताईन् ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ । उक्त योजनाअनुसार कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको विल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ । योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत उल्लेखित रकमको हदमा नबढ्ने गरी दाबी गर्न सकिने छ । महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ ।

पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि बाहेक प्रसूति बिदा बस्नु पर्दा सो अवधिका लागि निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशतका हिसाबले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधाबापत भुक्तानी गर्नुपर्नेछ । रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण अक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउनेछ ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा आश्रित पति वा पत्नी निवृत्तिभरण, सन्ततिका लागि शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई सुविधा, अन्तिम संस्कार खर्चबापतको रकम पाइनेछ । दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउने छन् ।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउनेछ । एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ ।

यी समाचारहरु पनि पढ्नुहोस्

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कामदारलाई एक प्रतिशत कर छुट

सरकारी कर्मचारीले पाउने पेन्सन र निजी क्षेत्रका कर्मचारीले पाउने पेन्सनमा फरक हुन्छ- श्यामराज अधिकारी

सामाजिक सुरक्षा कार्यक्रम औपचारिक रुपमा शुरू, सहयोग गर्ने उद्योगीहरुको प्रतिवद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.