बर्षा र बाढीपहिरोले अवरुद्ध विद्युत् प्रणाली आजदेखि सुचारु हुने

  २०७६ साउन १ गते ९:०१     विकासन्युज

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध भएका विद्युत् प्रसारण प्रणालीको मर्मत बुधबारसम्म सम्पन्न भइसक्ने जनाएको छ ।

यही असार २६ गतेदेखि देशव्यापी रुपमा परेको अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ का विभिन्न स्थानमा विद्युत् प्रसारण अवरुद्ध भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मन्त्री वर्षमान पुनले भने, “बाढी पहिरोका कारण अवरुद्ध भएका विद्युत् प्रसारण बुधबारदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”

विद्युतीय दुर्घटना निम्तने भन्दै नेपाल विद्युत् प्राधिकरणले प्रभावित जिल्लामा विद्युत् प्रवाह रोकेको थियो । जसबाट दूरसञ्चार सेवासमेत अवरुद्ध हुन पुगेको थियो । विशेष गरी रौतहट, सर्लाही, सुनसरीलगायतका जिल्लामा विद्युत् प्रवाहमा समस्या देखिएको थियो ।

विपद्का समयमा मुलुकभर विद्युत् माग घटेर करीब ६०० मेगावाटमा सीमित भएको थियो । जसका कारण बढी भएको विद्युत् भारत निर्यात गरिएको थियो । मन्त्री पुनले पहिरोका कारण काबेली करिडोरको ८२ नं टावरमा समस्या आएपछि तत्कालै मर्मत गरिएको समेत जानकारी दिए । सो करिडोरको स्थानीय लोहेन्द्रा र धन्सार खोलाले कटान गर्दा उक्त टावरमा समस्या देखिएको थियो ।

प्राकृतिक प्रकोपबाट विद्युत् प्रणालीमा भएको क्षतिका विवरण सङ्कलनको चरणमा रहेको जानकारी दिँदै मन्त्री पुनले तत्कालै क्षतिको विवरण उपलब्ध हुन केही दिन लाग्ने बताए ।

जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि मकवानपुरमा अवस्थित इन्द्रसरोवरमा जलसतह वृद्धि हुँदा कुलेखानी जलविद्युत् आयोजना २४ सै घन्टा सञ्चालनमा ल्याउनु परेको उनले जानकारी दिए । सामान्यतयाः असोज १५ मा मात्र भरिने उक्त जलाशय यसपटक भने असारमै भरिएको थियो । कूल एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता भए पनि ‘गोरखा भूकम्प’पछि एक हजार ५२६ मिटरसम्म मात्र पानी जमाउने गरिएको छ ।

आयोजना पूर्ण क्षमतामा चलाउँदा प्रतिघन्टा तीन सेन्टिमिटर मात्रै पानी घट्ने तर जलाधार क्षेत्रबाट ६० सेन्टिमिटरका हाराहारीमा पानी जम्मा भएपछि व्यवस्थापन गर्न चुनौतिपूर्ण बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.