बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु

  २०७६ असार ३१ गते १६:४५     विकासन्युज

रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ ।

वर्षाको कारण चारैतिर पानी पर्ने, जमिन भित्रका जीवहरु र किराहरु जमिन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन् ।

लुम्बिनीको राजकीय बुद्ध बिहारमा भिक्षुहरु सागर धम्म, विमल धम्म र मिलिन्द वर्षावासमा बसेका छन् । बिहारमा धार्मिक कार्यक्रमको आयोजना गरी उनीहरु वर्षावास बसेको हो ।

भिक्षु सागर धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गरेको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको हो ।

बौद्ध शास्त्रअनुसार सिद्धार्थ गौतम असार पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गरेका थिए । उनले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण (घरबार) त्यागंं गरेका हुन् ।

अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले आजकै दिनमा पहिलो पटक पाँच जना ब्राह्मणहरुलाई शिक्षा दिएका थिए । जसलाई बौद्धहरु धर्मचक्र प्रवद्र्धन भन्छन्, असार पूर्णिमाकै दिनदेखि बुद्ध धर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ । “भिक्षुहरुको वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै बिहारमा बसेर अध्ययन एवं चिन्तन मनन गर्नु हो । वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवत जावत गर्न पनि गाह्रो हुने भएकोले भगवान् बुद्धले असार पूर्णिमादेखि आश्विन पूणिर्मासम्म वर्षावासको व्यवस्था गर्नुभएको हो”, भिक्षु धम्म भन्छन् ।

वर्षावासको समयमा बिहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमित रूपमा बिहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम हुने भिक्षु धम्मले जानकारी दिए ।

बौद्ध धर्मावलम्बीको वर्षावास पर्वका अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम सम्पन्न भएको छ । राजकीय बुद्ध बिहारमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले बुद्ध शिक्षालाई जीवन्त राख्न भिक्षुहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले बुद्धको शिक्षालाई आत्मसात् गरी अगाडि बढन सके समृद्धि सम्भव भएको बताउँछन् । “बुद्धको शिक्षालाई व्यावहारिक कार्यान्वन गर्नु जरुरी छ, शान्ति र अहिंसाको सन्देशबाट पाठ सिकेर अगाडि बढौँ”, उनले भने ।

राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले बुद्धको शिक्षा र दर्शनलाई बुझ्न सके देशको समृद्धि टाढा नभएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रध्यापक नीरबहादुर गुरुङले बुद्ध शिक्षाको प्रचार र व्यावहारिक कार्यान्वयन जरुरी रहेको उल्लेख गर्दै ब्रह्मकुमारी गीता दिदीले समाजलाई सही दिशामा डोर्याउन जरुरी रहेको धारणा राखिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.