सात सय ३२ स्थानीय तहमा पुगे बैंक, अझै २१ स्थानमा पुग्न बाँकी

  २०७६ असार ३१ गते १२:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्म ७ सय ३२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म सबै अर्थात ७ सय ५३ वटै स्थानीय तहमा बैंक शाखा पुर्याउन निर्देशन दिएपनि अझै २१ स्थानमा बैंक शाखा पुग्न बाँकी रहेको छ ।

गतवर्षको असार अन्त्यसम्म ६ सय ३१ स्थानमा बैंक शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकले गत आवको अन्त्यसम्म सबै स्थानीय तहमा बैंक शाखा पहुँच पुर्याउने तयारीका साथ बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेपछन अहिलेसम्म सबै स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार प्रदेश ५ का सबै स्थानीय तहमा बैंक शाखा विस्तार भइसकेको छ । उक्त प्रदेशमा १०९ वटा स्थानीय तह रहेका छन् । हालसम्म प्रदेश ६ मा सबैभन्दा बढी स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी छ भने प्रदेश १ मा एउटामा मात्रै बैंक शाखा पुग्न बाँकी रहेको छ । प्रदेश ६ मा रहेका ७९ स्थानीयतहमध्ये आठ वटा स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये ८२ स्थानमा बैंक शाखा बिस्तार भइसकेको छ । अझै ६ स्थानमा बैंक शाखा पुग्न बाँकी छ । प्रदेश २, ३ र ४ मा दुई–दुई स्थानमा बैंक शाखा पुग्न बाँकी रहेको छ । प्रदेश २ मा १३६ वटा स्थानीय तह रहेका छन् । प्रदेश ३ मा ११९ र प्रदेश ४ मा ८५ वटा स्थानीय तह रहेका छन् ।

बैंकहरूले तत्कालै बाँकी २१ स्थानीय तहमा बैंकिङ शाखा पुर्याउने तयारी गरिरहेका छन् । इन्टरनेट, अन्य पूर्वाधार र केही स्थानीय तहमा केन्द्र विवादका कारण पनि बैंक शाखा खोल्न ढिला भएको राष्ट्र बैंकले जानकारी दिएको छ । बाँकी स्थानमा दिन प्रतिदिन बैंक शाखा थपिदै जाने राष्ट्र बैंकले बताएको छ ।

यसअघि बाटोघाटो, विद्युत, इन्टरनेट, सुरक्षा, भौगोलिक विकटता लगायतका विभिन्न कारण देखाउँदै दुर्गम स्थानमा बैंकहरू जान मानेका थिएनन् । केन्द्र विवाद तथा भाडामा घर नपाउँदा शाखा विस्तारमा समस्या परेको हो । तर, पछिल्लो समय उल्लेख्य रुपमा बैंक शाखा बढेको छ’, प्रवक्ता निरौराले भने– ‘बैंकहरू राष्ट्र बैंकले तोकेको स्थानमा जान तयार छन् ।’

१ वर्षको अवधिमा १०१ स्थानीय तहमा बैंक शाखा बिस्तार भएका छन् । यो अभियान शुरु गर्दा ३९४ स्थानीय तहमा मात्र बैंक शाखा थिए । ३५९ स्थानीय तहमा शाखा बिस्तार गर्ने लक्ष्य सहित सरकारले यो योजना अघि सारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.