करमा बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने, ‘पुगेन तयारी’

  २०७६ असार ३१ गते १०:०४     विकासन्युज

काठमाडौं । सरकारले करदाता दर्ता प्रणालीमा सुधार गर्न लागू गर्ने तयारी गरेको बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने भएको छ ।करदाताको बायोमेट्रिक लिने उपकरण जडान कार्य ढिला हुँदा बजेटले भने अनुरुप साउन १ गतेदेखि यो प्रणाली लागू गर्न नसकिएको हो ।

नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न पुराना करदाताको सूचना अद्यावधिक गर्नका लागि नयाँ फारम बनाउने कार्य सम्पन्न भइसकेको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेल जानकारी दिए ।

मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बर लिने नयाँ करदातालाई बायोमेट्रिकमा दर्ता गराउँछौँ,’ उनले भने–‘हामीले आवश्यक तयारी गरिरहेका छौँ, छिट्टै उपकरण जडान कार्य सम्पन्न हुनेछ ।’ ‘नयाँ फारममा करदाताको सूचना अध्यावधिक गरी उनीहरुको बायोमेट्रिक दर्ता पनि गरिनेछ,’ उनले भने– ‘आन्तरिक राजस्व विभागले सबै करदाता कार्यालयहरूलाई बायोमेट्रिक प्रणालीको उपकरण खरिद गर्न बजेटपछि नै निर्देशन दिइसकेको छ ।’ यद्यपी उपकरण जडान भइरहेकोले सो प्रणालीअनुसार दर्ता हुन भने समय लाग्ने ढुंगेलले बताए ।

कर प्रशासनलाई पारदर्शी बनाउन सरकारले पहिलोपटक करदातालाई बायोमेट्रिक प्रणालीमा आवद्ध गरी विवरण राख्ने व्यवस्था गरिएको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा आगामी आवदेखि यस्तो व्यवस्था लागू गर्ने उल्लेख गरिएको छ ।

सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भएका करदातालाई आगामी आवभित्र र आयकरमा दर्ता रहेका करदातालाई क्रमशः नयाँ दर्ता प्रणालीमा आफ्नो विवरण अद्यावधिक गराउनु पर्ने व्यवस्था मिलाएको छ ।

अबदेखि स्थायी लेखा नम्बर लिई कारोबार गर्दै आएका उद्योगी तथा व्यवसायीले आन्तरिक राजस्व विभागले तोके बमोजिमको दर्ता सम्बन्धी विवरण बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ । बायोमेट्रिक प्रणाली भनेको करदाताको आँखा, अनुहार, हात आदीको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो ।

भ्याटमा दर्ता भएका पुराना करदातालाई समेत बायोमेट्रिक प्रणालीमा आवद्ध गराउने जानकारी विभागले दिएको छ ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका पूराना करदाताको विवरण अध्यावधि बायोमेट्रिक दर्ता गराउने प्रक्रियामा हामी अघि बढेका छौँ,’ उनले भने–‘त्यसपछि स्थायी लेखा नम्बर लिएका पुराना करदाताको विवरण अध्यावधिक र बायोमेट्रिक दर्ताको काम अघि बढ्छ ।’

बायोमेट्रिक प्रणाली कार्यान्वयनमा आएपछि करदाताको विद्युतीय हस्ताक्षर विभागले संकलन गर्नेछ । यसले करदाताको ट्रयाक गर्न सहज हुनेछ । कुनै करदाताले गल्ती गरे उसमाथि तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने विभागको उनले बताए ।

हाल नेपालमा २१ लाख करदाता रहेका छन् । सोमध्ये दुई लाख ३० हजार करदाता भ्याटमा दर्ता भएका छन् । आयकरमा व्यवसायतर्फ १२ लाख र व्यक्तिगततर्फ ९ लाख करदाता रहेको ढुंगेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.