राष्ट्र बैंकले थपिदियो ब्याज तिर्ने म्याद, व्यवसायीलाई एक महिना राहत

२०७६ असार ३० गते २०:०८ विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याज तिर्ने समय एक महिना थप गरिदिएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै आर्थिक वर्ष समाप्त भएको एक महिनासम्म ब्याज तिर्न सकिने व्यवस्था गरेको हो ।

हालसम्म आर्थिक वर्ष सकिएको १५ दिनसम्म मात्रै ब्याज तिर्न पाउने सुबिधा थियो । राष्ट्र बैंकले १५ दिन समय थपेर एक महिनाको सुबिधा दिएको हो । देशभर आएको बाढी, पहिरो र डुबानका कारण व्यवसायीहरुलााई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ ।

पुस मसान्त अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीको सिमालाई पनि असार मसान्त अवधीसम्म वृद्धि गरिदिएको छ । बाणिज्य बैंकले कुल लगानीको २५ प्रतिशत, विकास बैंकले १५ र फाइनान्स कम्पनीले १० प्रतिशत कर्जा सापटी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । बाणिज्य बैंकहरुले भने कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा १५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था थियो ।