उदयपुर सिमेन्ट डेढ महिनादेखि बन्द, पानी पसेर हेटौँडा सिमेन्ट उद्योगमा पनि समस्या

  २०७६ असार ३० गते १४:१६     राजाराम न्यौपाने


काठमाडौँ । ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिनादेखि बन्द रहेको छ । मेशिन बनाउनका लागि बुटवल पठाइएको उद्योगका सूचना अधिकारी राम जिसीले बताए । उद्योग जेठ २१ गतेदेखि बन्द छ ।  सरकारी स्वामित्वको उदयपुर सिमेन्ट लामो समयसम्म बन्द हुँदा करोडौँको नोक्सान भएको छ ।

सो उद्योगले प्रतिदिन ८ हजार ४० मेट्रिक टन(प्रतिदिन झण्डै ४० हजार बोरा) सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द भएको लामो समय भएपछि बजारमा उदयपुर सिमेन्टको अभाव भने नरहेको सूचना अधिकारी जिसीले जानकारी दिए । उनले भने-‘उदयपुर सिमेन्टले बजारको माग धानिरहेको छ, अहिलेसम्म अभाव कै अवस्था सिर्जना भएको छैन ।’ केही दिनमै मेशिन बन्ने र उद्योग पूर्ववत् अवस्थामा सञ्चालनमा आउने समेत उनले बताए ।

यता, सरकारी स्वामित्वमा रहेको मकवानपुर स्थित हेटौँडा सिमेन्ट उद्योग पनि वैशाख १५ गतेदेखि जेठ ३० गतेसम्म बन्द भएको थियो । सो उद्योगपनि पटक पटक बन्द हुँदै आएको छ । उद्योगको ठूलो बेरिङ मिलमा समस्या आउँदा उद्योग पटक-पटक बन्द हुने गरेको उद्योगका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए । ठूलो बेरिङ मिल मर्मत गर्न नेपाली प्राविधिक नपाउने र विदेशबाट बोलाउनु पर्ने भएकाले सो मिल बन्न समय लाग्ने भएकाले उद्योग लामो समयसम्म बन्द हुने गरेको उनले बताए ।

प्रवक्ता बर्तौलाका अनुसार केही दिन यता परेको अबिरल वर्षाका कारण पनि उद्योगमा समस्या आएको छ । उद्योग सञ्चालनमा रहेपनि पानी पसेर समस्या देखिएको र केही दिनमा उद्योगको अवस्थाबारे जानकारीमा आउने र मर्मत गर्नु परे उद्योग बन्द हुन सक्ने पनि उनले बताए ।

उद्योग मन्त्रालय बेखबर
सरकारी स्वामित्वमा रहेका सिमेन्ट कारखाना बन्द हुने र चल्ने घटना नौलो होइन । उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको पछिल्लो अवस्थाका बारेमा विकासन्युजको जिज्ञासामा उद्योग मन्त्रालयका सहसचिव पुष्पराज शाहीले अनविज्ञता प्रकट गरे । उनले भने-‘मलाई यस विषयमा केही थाहा छैन, सम्बन्धित उद्योगका जीएमहरुलाई सोध्नू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.