मुस्ताङका पीडित कृषकलाई प्रदेश सरकारबाट रु ४९ लाख राहत

  २०७६ असार ३० गते ११:३२     विकासन्युज

कास्की । गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई रु ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताएका छन् । हिमपातका कारण कृषकले पालेका भेँडा, च्याङ्ग्रा, याक, घोडालगायत घरपालुवा पशु चौपायको क्षति हुँदा कृषक पीडित बनेका थिए ।

मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख सहितको टोलीले कृषकलाई राहत वितरण गरेको थियो । मन्त्रालयले क्षति भएको चौँरी गाई ठूलो प्रतिगोटा रु चार हजार, घोडा रु तीन हजार, गाई रु एक हजार ५०० तथा च्याङग्रा, भेडा, बाख्राको रु ९५० का दरले राहत वितरण गरेको दवाडीले जानकारी दिए ।

हिमपातले जिल्लामा सबैभन्दा बढी लोमान्था लोमान्थाङ गाउँपालिकामा क्षति पुर्याएको थियो । यहाँका २११ कृषकका दुई हजार ७६६ पशु चौपाया हिमपात र चिसोबाट मरेकाले उनीहरुलाई रु २८ लाख ९९ हजार ८५० राहत वितरण गरिएको छ । त्यस्तै थासाङ गाउँपालिकामा ७३ कृषकको ५८० पशु चौपाया क्षति भएकोमा रु पाँच लाख ९३ हजार ८५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १३ कृषकलाई रु एक लाख ३३ हजार ५००, दामोदरकुण्ड गाउँपालिकामा ४८ कृषकलाई रु छ लाख ७५ हजार ७५० तथा घरपझोङ गाउँपालिकामा ३२ कृषकलाई छ लाख १९ हजार १०० राहत वितरण गरिएको मन्त्री थापाले बताउँछन् । हिमपातले जिल्लाका ३७७ कृषक पीडित बनेका थिए ।

राहत वितरण गर्दैै मन्त्री थापाले प्रदेश सरकार जनताको दुःखमा सधैं साथमा रहेकाले राहत लिएर जनताको घरघरमा आएको बताए । प्राकृतिक विपद् एवं महामारीजन्य रोगबाट कृषि तथा पशुपक्षी उत्पादनमा क्षति पुर्याएमा प्रभावित कृषकलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने उद्देश्यले चालू वर्षको बजेट तथा कार्यक्रममा समावेश गरिएको आकस्मिक सेवा टेवा कार्यक्रममार्फत कृषकलाई सो सहयोग प्रदान गरिएको मन्त्री थापाले जानकारी दिएका छन् । हिमपातलगत्तै जिल्ला प्रशासन, कृषि मन्त्रालय तथा भेटेरीनरी अस्पताल म्याग्दीबाट स्थलगत अनुगमनमा गएको टोलीले सङ्कलन गरेको क्षतिको विवरण मूल्याङ्कन गरी कृषकलाई राहत प्रदान गरिएको मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.