साउनदेखि अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकसँग १ हजार लिन नपाइने, वार्षिक डेढ अर्ब गुम्दै

  २०७६ असार २९ गते १९:५२     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साउनदेखि विदेशी पर्यटकसँग  एयरपोर्ट विकास कोष(एडिएफ) उठाउन नपाउने भएकाे छ । पाँच वर्षअघि मन्त्रिपरिषदले गरेकाे निर्णयका अाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले हरेक विदेशी पर्यटकसँग एयरपोर्ट विकास कोष(एडीएफ) वापत एक हजार रुपैंयाँ असुल्दै आएको थियो ।

पाँच वर्षकाे म्याद यहि असार मसान्तमा सकिदैछ । एयरपोर्ट विकास कोष(एडिएफ) नविकरणा सम्बन्धी फाइल समयमै मन्त्रिपरिषदबाट पास गराउने पर्यटन मन्त्रालय असफल भएपछि विमानस्थलले अर्बौं आम्दानी गुमाउने अवस्था सृजना भएको हो ।

हालसम्म त्यस्तो शुल्क वापत ८ अर्ब रुपैंयाँ भन्दा बढी संकलन भैसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लेखा शाखा प्रमुख शशिलाल प्रधानले जानकारी दिए । प्रधानका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ अर्ब ७१ करोड रुपैंयाँ संकलन भएको छ ।

एडीएफ असुल्ने म्याद असार मसान्तसँगै समाप्त हुँदैछ । तर फाइल मन्त्रिपरिषद पठाउने गृहकार्य अझै टुंगिएको छैन् । ‘असार मसान्तबाट एडीएफ शुल्क उठाउने म्याद सकिँदैछ, त्यसअघि नै मन्त्रिपरिषदबाट पास गरिसक्नुपर्ने हो, तर अहिलेसम्म त्यस्तो सम्भावना देखिएको छैन’, पर्यटन मन्त्रालय उच्च श्रोतले भन्यो ।

श्रोतका अनुसार एडीएफ शुल्क सम्बन्धी फाइल पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि पर्यटन मन्त्रालय मार्फत मन्त्रिपरिषदमा लगेर पास गराउनुपर्छ । तर यतिबेला पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री केपी ओलीले गरिरहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार विकासमा मात्रै खर्च हुने गरि असुलिँदै आएको शुल्कबाटै विमानस्थल सुधारको काम भैरहेको छ । सोही शुल्कबाट धावन मार्गको मर्मत तथा स्तरोन्नतिको काम भैरहेको छ । तर सरकारले समयमै निर्णय नगरिदिँदा आगामी आर्थिक वर्षमा त्यस्तो शुःल्क उठाउन नपाउने अवस्था सृजना भैरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले एडीएफ शुल्क असुल्ने म्याद थपका लागि निर्णय भई नसकेको बताए । ‘हामीले आफ्नो तर्फबाट काम सकेर प्राधिकरण मार्फत मन्त्रालय फाइल पठाएका छौं, कुनै निर्णय भएको जानकारी पाएका छैनौं’, विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विकासन्युजसँग भने ।

विमानस्थलले बर्सेनी एडिएफ शुल्क वापत डेढ अर्ब भन्दा बढी रकम संकलन गर्दै आएको थियो । सोही शुल्कबाट विमानस्थलको धावन मार्ग मर्मत तथा सुधार, ब्युटिफिकेशन लगायतका काम गर्दै आएको थियो । तर पर्यटन मन्त्रालयमा विभागिय मन्त्रीको अभावले एडीएफ शुल्क सम्बन्धी फाइल समयमै अघि नबढेको जानकारहरू बताउँछन् ।

हेलिकप्टर दुर्घटनामा परी  पर्यटन मन्त्री रविन्द्र अधिकारीको  निधन भएसँगै टुहुरो बनेको पर्यटन मन्त्रालयसँगै एक मात्रै अन्तराष्ट्रिय विमानस्थलले समेत अधिकारीको अभाव महशुस गरेको हो । विभागीय मन्त्रीको अभावमा यतिबेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले बार्षिक २ अर्ब भन्दा बढी आम्दानी गुमाउने अवस्था सृजना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.