१ अर्ब १५ करोड चुक्ता पूँजी भएको सरकारी कम्पनी खुल्दै, नाम टुंगिन बाँकी

  २०७६ असार २९ गते १९:३३     राजाराम न्याैपाने

काठमाडौँ । सरकारले १ अर्ब १५ करोड ९८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहने गरी नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । उक्त कम्पनीको जारी पूँजी ३० अर्ब रुपैयाँ रहने छ । नयाँ कम्पनीका लागि छिट्टै तदर्थ समिति गठन हुँदैछ । समितिमा उद्योग, कृषि, अर्थ, गृह मन्त्रालयका प्रतिनिधिहरु रहने छन् ।

चालु आवको बजेटमा सरकारले खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुनर्संरचना गरी नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व गाभ्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नै नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढेको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार नयाँ बन्ने कम्पनीको नाम खाद्य आपूर्ति लिमिटेड प्रस्ताव गरिए पनि दर्ता भइसकेको छैन । उद्योग मन्त्रालयकी सहसचिव उर्मिला केसीले नयाँ बन्ने कम्पनीको कार्यविधि, प्रबन्धपत्र, नियमावली बनिसकेको बताइन् ।

सरकारी स्वामित्वको खाद्य संस्थानलाई आपूर्ति कम्पनीका रूपमा पुनसंरचना गर्न लागिएको हो । खाद्य संस्थानलाई कम्पनी ऐनअन्तर्गत रूपान्तरण गरी खारेजमा परेको नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व यसमा गाभिने जनाइएको छ ।

यो कम्पनीमार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तुको खरिद, सुलभ रूपमा आपूर्ति, ढुवानी, बिक्री, भण्डारण, अस्वाभाविक बजार मूल्यलाई स्थिरिकरण गर्ने, आयात निर्यात लगायत काम गर्ने बताइएकाे छ ।

आपूर्ति कम्पनीको सातवटै प्रदेशमा  कार्यालय राख्ने गरी संगठन संरचना तयार पारिएको छ । उपत्यकामा छुट्टै संरचना हुनेछ । गोदाम निर्माण, मिल निर्माण, विभिन्न मुलुकबाट प्राप्त हुने अनुदान र सहयोगबापतको वस्तु स्वीकार गर्ने, चल अचल सम्पत्ति आर्जन गर्न सक्नेलगायत अधिकार यसलाई दिइने उद्योग मन्त्रालय श्रोतले जनाएको छ ।

नयाँ कम्पनी बनेपछि नेपाल खाद्य संस्थान स्वतः निश्क्रिय हुने उद्योग मन्त्रालयकी सहसचिव केसीले बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.