आईएमई जनरल र नेपाल इन्स्योरेन्सले मर्जरकाे काम थाले, स्वाप रेसियाे बराबर हुन सक्ने

  २०७६ असार २९ गते १६:३२     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा मर्जर कार्यको अगुवाई गर्दै अगाडि बढेको आईएमई समूहले बीमा क्षेत्रमा पनि मर्जरको अगुवाई गर्ने सम्भावना बढेको छ । आईएमई समूहको मुख्य लगानी रहेको आईएमई जनरल इन्स्योरेन्स कम्पनी र आईएमई समूहले प्रवर्द्धक सेयरमा लगानी गरेको नेपाल इन्स्यारेन्स कम्पनी दुबैले मर्जरको गृहकार्य थालनी गरेका छन् ।

आईतबार सम्पन्न आईएमई जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभाले उपयुक्त पार्टनर खोजी मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साधारणसभाले उपयुक्त कम्पनीसँग गाभ्न, गाभिन र प्राप्ति गर्न सञ्चालक समितिलाइ अक्तियार दिएकाे छ ।

उता नेपाल इन्स्योरेन्स कम्पनीले मर्जरमा जानको लागि आवश्यक अध्ययन गर्न र सुझाव दिन एक कमिटि गठन गरी काम थालेको छ । यस कम्पनीले पनि साउन महिना गर्न लागेकाे साधारणसभा मर्जर सम्बन्धि विशेष प्रस्ताव लैजाने भएकाे छ ।

दुई कम्पनीका केही प्रमोटर, विजनेशनको साईज, नाफा, सेयरको बजार मूल्य लगायत धेरै सूचकाङ्कमा समानाता रहेकोले दुई कम्पनीबीच मर्ज सहज हुने बताइएको छ ।

आईतबार सम्पन्न आईएमई जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभाले कम्पनले ५ प्रतिशत बोनस सेयर पारित गरेको छ । बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ हुनेछ ।

उता नेपाल इन्स्योरेन्स कम्पनीले पनि आईतबार नै बोनस सेयर घोषणा गरेको छ । कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ ।

दुई कम्पनी मर्ज हुँदा चुक्ता पुँजी करिव २ अर्ब १५ करोड हुन्छ । विजनेशन साढे २ अर्ब रूपैयाँ बराबर हुनेछ ।

दुई कम्पनीको चालु आर्थिक वर्षको विजनेश पनि समान देखिएको छ । गत शुक्रबारसम्म आईएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २१ करोड प्रिमियम संकलन गरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले शुक्रबारसम्म १ अर्ब १८ करोड प्रिमियम संकलन गरेको छ ।

दुई कम्पनीबीच स्वाप रेसियो बराबरीको हाराहारीमा हुने देखिएको छ । आईतबार सेयर बजारमा आईएमई जनरल इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३५४ रुपैयाँमा कारोबार भयो भने नेपाल इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ३५३ रुपैयाँमा कारोबार भएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीमा आईएमई समूहमा आवद्ध व्यक्ति तथा कम्पनीहरुको सेयर झण्डै ७० प्रतिशत रहेको बताईएको छ । उता नेपाल इन्स्योरेन्स कम्पनीमा आईएमई समूह र आईएमई समूहसँग विजनेश साझेदारीमा हातेमालो गर्दै आएको विशाल ग्रुपमा सेयर लगानी झण्डै ३० प्रतिशत छ ।

बीमा समितिले मर्जरलाई प्रोत्साहित गर्ने नीति लिएपछि यी दुबै कम्पनी मर्जरमा जाने गृहकार्यमा जुटेका छन् । बीमा समितिले पनि क्रसहाेल्डिङ भएका कम्पनीबीच मर्ज गराउन दवाव दिने तयारी गर्दैछ । आईएमई समूह र विकाल समूह दुबैसँग बैकिङ क्षेत्रमा मर्जर गरी सफलता हासिल गरेको अनुभव छ ।

नाममा सहमति जुट्न कठिन

अरु विषयमा दुई कम्पनीबीच मर्जरको लागि ठूलो समस्या नदेखिए पनि नाम टुङ्गो लगाउन भने निकै सकस हुने देखिएको छ । ‘नेपाल इन्स्योरेन्स’ नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो । यसका नाम र इतिहास दुबै राम्रो छ ।

उता आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि ब्राण्ड इमेज बनाउन विगत एक वर्षमा धेरै पैसा खर्च गरेको छ । आईएमई रेमिट, ग्लोवल आईएमई बैंक, ग्लोबल आर्ईएमई क्यापिटल, आईएमई लाइफ इन्स्याेरेन्स  हुँदै आईएमई जनरल इन्स्योरेन्सको नाममा व्यवसायिक सफलता चुम्दै आएको आईएमई समूहको लागि यो नाम छोड्न सहज हुनेछैन । अन्ततः नेपाल आईएमई इन्स्याेरेन्स वा आईएमई नेपाल इन्याेरेन्स नाममा सहमति जुट्न सक्ने जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.