गौर डुबान भारतले होइन नेपालले गराएको होः अनिल झा

२०७६ असार २८ गते १७:१५ विकासन्युज

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन् ।’

उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ झाले अहिलेपनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे ।

सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्नपनि उनले सरकारलाई आग्रह गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले थपे,‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’

बाढि, पहिरो पीडितहरुलाई उद्धारा तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको झापको भनाई छ । उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे । उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए । उनले भने,‘म काठमाडौंमा छु, म यहीँ बसेरपनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु । सरकारसँग निरन्तर सम्पर्कमा छु । भारतीय राजदुतसँगपनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु ।’