जैसा करनी वैसा भरनी !

२०७६ असार २७ गते १७:२३ भीमप्रसाद उपाध्याय

मुलुक दिन प्रतिदिन प्राविधिक तथा अनुसन्धानको दखल खोज्दैछ । प्राविधिक कल्चर र क्षमताका दृष्टिले नेपालको अवस्था निम्नस्तरको रहेको छ । दिन प्रतिदिन प्राविधिक क्षमता, जनशक्ति, संस्थाहरूको अवस्था खस्किदै गएको छ र यसैकारणले नेपालको आय बढेपनि प्राविधिक क्षमता र सक्षमता तन्नम हुदै जाने देखिन्छ ।

प्राविधिक, बैज्ञानिक, अनुसंधान, कार्यान्वयन संस्थाहरू बढाउँदै लैजानु पर्नेमा सामान्य प्रशासन, न्याय प्रशासन र अन्य सामाजिक आयोगहरू भरमार थप्दै, सेना–प्रहरीको संख्या बढाउदै गएर मुलुकको आयले नथाम्ने र विज्ञान प्रविधिका क्षेत्रमा लगानी गर्न बजेट नै उपलव्ध हुन नसक्ने भयावह स्थिति सिर्जना हुँदै गएको छ ।

ढल, फोहरमैला, दिसाजन्य लेदो व्यवस्थापन, बाढी नियन्त्रण, वर्षातको पानी निकास, खानेपानी, आईटी, ईशासन, ई बिजिनेस, सडक र यातायात व्यवस्थापन, प्रदूषण व्यवस्थापन, जलप्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन, यातायात संरचना एवं सडक मर्मत संभार, तहगत प्राविधिक जिम्मेदारी विभाजन, अधिकार र श्रोत परिचालनमा प्रविधिजन्य हस्तक्षेपिकरण जस्ता जटिल कामहरूमा कम्प्लेक्स संस्थागत व्यवस्थाको दरकार पर्छ । तर, यी पक्षमा कसैलाई कुनै मतलब छैन ।

देश-विदेशमा भएका विज्ञ सफल नेपालीलाई आकर्षित गर्ने र नेपालमा टिकाउन मतलब छैन, प्रदूषण बढाउने पर्यटकलाई बरू नेपालमा स्टे अवधि बढाउनेमा ढ्वाङ फुकिन्छ । मुलुकको प्राविधिक संस्था र क्षमतामा बढाउने तिर कसैलाई मतलब र रूचि देखिन्न, न राजनीति गर्नेमा त्यो क्षमता छ ।

नेपालमा वर्षाको वार्षिक परिमाण विगत दशौं दशकदेखि उही छ । तर वर्षाको घटना पहिले जस्तो तोकिएको महिनामा सन्तुलित वितरण देखिन्न । उपत्यका र सहरहरू समेतमा वर्षातको पानी बग्ने निकासहरू अधिकॉश भौतिक संरचना र निर्माण र अव्यवस्थित वस्ति विकासका कारण सॉघुरिएका वा अवरूद्ध वा थुनिएका छन्, खोलाहरू मिचिएका र सॉघुरिएका छन् । वर्षे पानी निकास गर्ने ढल पर्याप्त बनाएर वस्ति विकास गरिएकै छैनन् । त्यसैले वर्षेनि वर्षाको बेला डुबान र बाढी आउने गर्छ, आउनै पर्छ। प्रकृतिले विना भेदभाव आफ्नो काम गर्छ, कसैलाई काखापाखा गर्दैन । कुनै अचम्म होईन । हामी आफ्नै राजनीतिक विकासे र सामाजिक चर्तिकलारूपी कर्मको नतिजा भोगेका हौं र भोगिरहने छौं । जैसा करनी वैसा भरनी, भाग्य त्यस्तो हैन पुन्टे कर्म त्यस्तो !