भीमसेन मन्दिर निर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठद्वारा एक करोड सहयोग

  २०७६ असार २७ गते ८:३६     विकासन्युज


काठमाडौँ । व्यापारीका आराध्य देवता मानिने पाटनका भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले रु एक करोड सहयोग हस्तान्तरण गरेका छन् ।

पुख्र्यौली घर पाटनमा भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको स्मरणमा रकम हस्तान्तरण गरेका हुन् । उनले चेक ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जन, मङ्गल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान र काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)का प्रमुख डा रोहित रञ्जितकारलाई हस्तान्तरण गरे ।

प्यागोडा शैलीमा निर्मित यो मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो । मन्दिर दिनदिनै जीर्ण बन्दै गएपछि मङ्गल टोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा मन्दिर पुनर्निर्माणका लागि समिति गठन भई काम शुरु भएको थियो । समितिले मन्दिर पुनर्निर्माणमा सुन लेपनबाहेक रु चार करोड त्रियानब्बे लाख लाग्ने अनुमान गरिएको छ ।

ललितपुर महानगरपालिकाले रु एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.