चुक्ता पूँजी नपुर्याउने र सुशासनमा नबस्ने कम्पनीप्रति कठोर बन्दै बीमा समिति

  २०७६ असार २६ गते १५:१६     नबिन पोखरेल


काठमाडौ । तोकिएको न्यूनतम चुक्ता पुँजी नपुर्याउने, बीमा समितिले दिएको निर्देशनहरु बारम्बार उल्लघंन गर्ने, दुई भन्दा बढी बीमा कम्पनीमा एउटै प्रवद्र्धक भएका र व्यवसाय विस्तारपनि राम्रोसँग गर्न नसकेका बीमा कम्पनीहरुप्रति बीमा समिति कठोर बन्ने भएको छ । त्यसका लागि बीमा समितिले आन्तरिक गृहकार्य थालेको छ ।

सरकारले बजेटमार्फत बीमा कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहित गर्ने घोषणा गरेका, बीमा समितिले पनि मर्जमा जान बीमा कम्पनीहरुलाई केही सहुलियत घोषणा गरेको, बैंकिङ क्षेत्रमा मर्जरको विषयमा व्यापक छलफल भईरहेको समयमा बीमा समितिले कसिलो नीति लिन खोजेको हो ।

जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको समय तीन पटक थपेको समय यहि असार मसान्तमा सकिन लागेपछि बीमा समिति त्यसपछि लिने निर्णयको तयारीमा जुटेको हो ।

बीमा बजारमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धालाई कसरी रोक्ने भन्ने विषयमा पनि बीमा समिति चिन्तित देखिएको छ । साउन पहिलो साता नै बीमा समितिले नयाँ कदम चाल्न सक्ने स्रोतले बताएको छ ।

बीमा कम्पनीहरुको नियामक बीमा समितिले आफूले तोकेको समयमा चुक्तापूँजी नपुर्याउने कम्पनीलाई कारबाही गर्ने जनाएको छ ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई २ अर्ब तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई १ अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने निर्देशन दिंदै आएको थियो । कम्पनीले चुक्तापूँजी नपुर्याउने कम्पनीलाई विकल्पको रुपमा कारवाही गर्नु पर्ने जनाएको हो ।

यता, नियामक बीमा समितिले तोकेको म्याद नाघ्न लागेको अवस्थामा कतिपय कम्पनीहरु अझै समय थप गर्न पाए हुन्थ्यो भन्ने पक्षमा छन् । तर, नियामक बीमा समितिले भने अब समय थप गर्ने पक्षमा नरहेको बुझिन्छ ।

समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ भन्छन्-‘ तोकेको पूँजी नपुर्याउने कम्पनीहरुलाई कारबाही गर्छौँ ।’ कारबाही कस्तो किसिमको हुन्छ भन्ने कुरा आगामी साउनपछि मात्र थाहा हुन्छ-उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.