महिला उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले १.३८ प्रतिशतमै कर्जा दिने

  २०७६ असार २६ गते १४:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले महिला उद्यमीलाई १.३८ प्रतिशतमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।

महिला उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन आज राष्ट्रिय वाणिज्य बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महासंघका तर्फबाट अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् ।

अहिले राष्ट्रिय वाणिज्य बैंकको आधार दर (वेस रेट) ५.३८ प्रतिशत छ । यसमा दुई प्रतिशत प्रिमियम थपेर ७.३८ प्रतिशतमा कर्जा प्रवाह गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । बैंकको ब्याज ७.३८ प्रतिशत पुग्दा महिला उद्यमीले १.३८ प्रतिशतमै सहुलियत कर्जा पाउने हुनुभएको छ,’ उनले भने ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिअनुसार सरकारले महिला उद्यमीलाई ६ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।’

सरकारले ६ प्रतिशत ब्याज अनुदान प्रदान गर्ने भएपछि महिला उद्यमीले १.३८ प्रतिशतमै कर्जा पाउनु हुनेछ ।’ पुरुष उद्यमीले भने २.३८ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउनु हुनेछ । पुरुष उद्यमीका लागि सरकारले ५ प्रतिशतमात्रै ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।
ब्याज अनुदान कार्यविधि लागू भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ सय ३५ उद्यमी महिलाले ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । सो स्वीकृत कर्जामध्ये ४ करोड ७४ लाख २४ हजार भने उपयोग गरिसकेका छन् ।

कुल स्वीकृत कर्जामध्ये ५ सय २९ महिला उद्यमीले विभिन्न वाणिज्य बैंकबाट ३६ करोड ८३ लाख कर्जा स्वीकृत गराएका छन् । विकास बैंकबाट ५ जना महिला उद्यमीले २९ लाख ८० हजार कर्जा स्वीकृत गराएका छन् भने एक महिला उद्यमीले फाइनान्स कम्पनीबाट पाँच लाख ३५ हजार कर्जा स्वीकृत गराएकी छिन् ।

बैंकको उद्देश्यनै सरकारको नीति अनुरुप समृद्ध राष्ट्र निर्माण लगानी गर्ने भएकोले बैंकको प्राथमिकता सहुलियत कर्जा प्रवाहमा भएको सीईओ श्रेष्ठले बताए । ‘वाणिज्य बैंकको ७७ जिल्लामा दुई सय २१ वटा शाखा कार्यालय, एक सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.