साउन १ देखि इन्टरनेटको १३ प्रतिशत मूल्य बढ्ने

  २०७६ असार २६ गते ८:२८     विकासन्युज


काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले साउन १ गतेदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत मूल्य बढाउने भएका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायकहरूका उपत्यकासहित देशका प्रमुख सहरमा ८ लाख बढी ग्राहक छन् ।

अघिल्लो वर्ष थपिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता हुने अपेक्षा थियो, इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले भने- ‘अब पनि मूल्य समायोजन गरेर बस्न सक्दैनौं, हामी वित्तीय रूपमा नाजुक अवस्थामा छौं ।’ उनले साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य बढाउने तयारी भएको बताए ।

अघिल्लो वर्ष सरकारसँग सहमति गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने उनले बताए । ‘अघिल्लो वर्ष भएको घाटा पनि उठ्ने गरी भाउ बढाउने तयारी छ,’ उनले भने ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएका थिए । दूरसञ्चार सेवा दस्तुर शीर्षकको यो शुल्क यो चालु आर्थिक वर्षअघि भ्वाइस सेवामा मात्रै लाग्थ्यो ।

मन्त्रालय र सेवा प्रदायकबीच गत साउन १० गते दूरसञ्चार सेवा शुल्क उपभोक्ताबाट नउठाउने सहमति भएको थियो । आर्थिक ऐनमा यस्ता शुल्क ग्राहकबाट सेवा प्रदायकले उठाएर राजस्व कार्यालयलाई प्रत्येक महिना बुझाउनुपर्ने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.