प्राकृतिक विपद् सम्बन्धी पूर्व जानकारीः टेलिकमले मोबाइलमा पठाउँछ सन्देश

  २०७६ असार २४ गते १५:१०     विकासन्युज

काठमाडौँ । बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी दिन मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको हो ।

हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको जनाएको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.