निजी बैंक धमाधम मर्जर प्रक्रियामा, सरकारी बैंक भने अलमलमा

  २०७६ असार २४ गते १२:४९     विकासन्युज

काठमाडौं । बैंकिङ बजार यतिबेला मर्जर तथा एक्युजिशनको माहोलमा छ । २८ वाणिज्य बैंकमध्ये १७ वटा निजी बैंकले राष्ट्र बैंकमा मर्जर प्रतिवद्धता पत्र बुझाएका छन् । बाँकी बैंक तथा वित्तीय संस्था भने ‘पर्ख र हेर’को अवस्थामा छन् ।

राष्ट्र बैंकले यहि असार १२ गते मर्जरमा जान बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । १९ गतेसम्म पर्टनर खोज्न दिएको समयावधिसम्म सात वटा वाणिज्य बैंकले मर्जर सम्बन्धि आशयपत्र बुझाए थिए भने सोमबारसम्म मर्जर प्रतिवद्धता सहित राष्ट्र बैंकमा पत्र पठाउने बैंकको संख्या १७ पुगेको हो । ग्लोलब आइएमई र जनता बैंक एकआपसमा मर्ज हुने प्रारम्भिक समझदारीमा हस्ताक्षर नै भइसकेको छ ।

राष्ट्र बैंकले पछिल्लो समय लिन लागेको नीतिका सम्बन्धमा निजी बैंकमा गहनता देखिएपनि सरकारी बैंकमा भने यसको प्रभाव देखिएको छैन । राष्ट्र बैंकले बलियो, सवल र सक्षम बैंक बनाउन चालेको यो नयाँ कदममा निजी बैंकले केही तत्परता देखाएपनि सरकारी बैंक भने सरकारको मुख ताकेर बसेको छ । उनीहरू अहिलेको अवस्थासम्म अलमलमै छन् ।

सरकारी पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक आफैंमा सवल र सक्षम छ । सरकारी ठूलो बैंकको आडमा बसेको राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रको प्राथमिकता कृषिमा विशिष्टीकृत गर्दै अघि बढेको कृषि विकास बैंक र मुलुककै जेठो बैंक ‘नेपाल बैंक’ भने मौद्रिक नीतिको पखाइमा छन् । पूर्ण सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकले पनि अहिलेसम्म राष्ट्र बैंकले चालेको पछिल्लो कदमका विषयमा केही ठोस निर्णय गर्न सकेको छैन ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्यायले सरकारी नीति कार्यान्वयन गर्न कुनै समस्या नभएको बताए । ‘सरकारी नीतिलाई लागू गर्नुपर्छ, यस विषयमा बोर्डमा छलफल भएको छ,’ उनले भने– ‘मौद्रिक नीतिले केही रोडम्याट ल्याउन सक्छ ।’ हाइ भ्यालू बनाएर जमेर बस्ने कि बिग मर्जर जाने दुबै हुन सक्छ । मर्जरमा जानु नै पर्ने अवस्थामा आएमा जानुपनि पर्छ । क्यापिटल बेस बनाएर जानेकी विशिष्कृत भएर जाने यस विषयमा पनि छलफल हुनेनै छ । सीईओ उपाध्यायले भने- ‘सरकारबाट अहिलेसम्म कुनै ठोस निर्णय आएको छैन ।’

नेपाल बैंकले पनि राष्ट्र बैंकले दिएको निर्देशनात्मक सल्लाह (बिग मर्जर)लाई मौद्रिक नीतिसम्म हेर्ने भएको छ । सरकारी हिस्सा र अग्रणी बैंकको रुपमा रहेको नेपाल बैंक अन्य कान्छा बैंकसँग मर्जर जाने की आफ्नो साख जोगाउने विषयमा अल्झिएको छ ।

मर्जर राष्ट्र बैंक र बजारले जन्माएको लहर हो । यसमा त्यति तुक नभएको नेपाल बैंक स्रोतले बताएको छ । केही बैंक कमजोर भए बलियो बनाउने अन्य प्रक्रियापनि हुन सक्छ,’ स्रोतले भन्यो ‘बलियो बैंकले कमजोर बैकसँग किन मर्जर गर्ने ? यो प्रश्न जन्मिएको छ ।

सरकारले लिएको वित्तीय सुधार नीति अनुरुप पछिल्लो समय सरकारी तीन वटै बैंक बलिया र सवल बैंकका रुपमा बजारमा पहुँच बढाउँदै छन् । राष्ट्र बैंकले आगामी शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

१७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई बुझाए मर्जरमा जाने प्रतिवद्धता पत्र(नामावली सहित)

ग्लोबल आइएमई र जनता बैंकबीच मर्ज गर्ने सहमति, लगानीकर्तालाई राम्राे प्रतिफल दिने प्रतिवद्धता

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.