प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवः प्रदर्शनीमा बिक्री भए सात लाखको पुस्तक

  २०७६ असार २३ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ ।

यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा रु एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिएका छन् ।

विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिका समेत गरी करिब ४०० कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले अवलोकन गरेको प्रदर्शनीमा करिब १० हजारले अवलोकन गरेका थिए । निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करिब रु चार लाख बराबरको पुस्तक खरिद गरेको जनाइएको छ ।

नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएको थियो । प्रतिष्ठानको शुरुआतदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुटमा उपलब्ध गराइएको थियो ।

प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रम र ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्ने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.