जग्गाको व्यवस्थापन नहुँदा बन्न सकेनन् भवन

  २०७६ असार २२ गते १४:५५     विकासन्युज

बागलुङ । वर्षदिन लगाउँदा पनि गलकोट नगरपालिका–१ दुदिलाभाटीमा स्वास्थ्यचौकी र वडा नं–९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन हुन सकेको छैन । चालू आवमा सञ्चालित नगर गौरवका योजनामा दुवै भवन निर्माण गर्ने उल्लेख छ ।

नगरपालिकाका ती वडाभित्र सार्वजनिक जग्गा नहुँदा भवन निर्माणको लागि जग्गाको समस्या भएको हो । निजी जग्गा खरिदको प्रक्रिया अघि बढे पनि अझै टुङ्गिएको छैन । चालू आवभित्र जग्गा व्यवस्थापन नहुने देखिएको छ । जग्गा किन्न स्वास्थ्यचौकीलाई रु ४० लाख र वडा कार्यालयलाई रु ३५ लाख बजेट विनियोजन गरिएको थियो ।

“नगरभित्र सार्वजनिक जग्गै छैन” नगर प्रमुख भरत शर्मा गैरेले भने, “निजी जग्गा साह्रै महङ्गो छ, किन्नै सकिन्न ।” स्वास्थ्यचौकी र वडाका लागि निजी जग्गा किन्न खोज्दा पनि प्रक्रियागत झन्झटले ढिलो भएको उनको भनाइ छ । उनले आउँदो वर्ष जसरी पनि जग्गा व्यवस्थापन गर्ने बताएका छन् ।

भवन नहुँदा वडा कार्यालय भाडाको कोठामा बस्नुपर्ने बाध्यता छ भने स्वास्थ्यचौकीको सुविधायुक्त भवन बन्न सकेको छैन । स्वास्थ्यचौकीको जग्गा पनि अन्तिम टुङ्गो लाग्ने प्रक्रियामा छ । सार्वजनिक जग्गा नभएपछि महङ्गो मूल्यमा निजी जग्गा खरिद गर्नुपर्ने अवस्था आएको हो ।

नगरपालिका आफैँ अहिले भाडाको घरबाट सञ्चालित छ । आउँदो आवको बजेटमा नगरपालिका कार्यालयलाई जग्गा व्यवस्थापन गर्न रु दुई करोड बजेट विनियोजन गरिएको छ । हाल नगरपालिका बसेको मजुवा फाँटमा एक हात जग्गाको मूल्य पाँच÷छ लाख रुपैयाँसम्म पर्छ । पूर्वाधार र संरचना बनाउन योग्य सार्वजनिक जग्गा कतै छैन । “खोला किनारमा भएका सार्वजनिक जग्गासमेत मिचिएका छन्” वडा नं– २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले भने ।

जङ्गल र पाखो छेउछाउ सार्वजनिक जग्गा भए पनि नगरको केन्द्रमा जग्गा अभाव रहेको उनको भनाइ छ । बढ्दो शहरीकरणले जग्गा झन् खुम्चदैँ गएको छ । कुनै ताका हराभरा देखिने मजुवाको फाँटमा अहिले धमाधम घर ठडिदैँछन् ।

सार्वजनिक जग्गा अभावमा बसपार्क, फोहर व्यवस्थापनलगायतमा पनि नगरपालिकालाई चुनौती छ । नगरपालिकाभित्र रहेको सार्वजनिक जग्गाको कुनै लिखत छैन । मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर घर टहरा बनाउने क्रम रोकिएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.