पार्टनर खोज्न के गर्दैछ नबिल बैंक ? अर्को बैंकमा गाभिन पनि तयार !

  २०७६ असार २२ गते १४:३९     विकासन्युज

काठमाडौं । नबिल बैंकले उपयुक्त पार्टनर पाए अर्को बैंकलाई गाभ्न वा गाभिन तयार रहेको बताएको छ । राष्ट्र बैंकको निर्देशन आएको भोलिपल्टै सञ्चालक समिति बैठक बसेर मर्जरबारे छलफल गरेको नबिल बैंकले ‘पार्टनर खोज्ने’ गतिविधिलाई तीव्रता दिएको छ । सुहाउँदो मर्जर पार्टनर पाएमा आफू गाभिन समेत तयार रहेको बैंकले जनाएको छ ।

सुहाउँदो पार्टनर र उपयुक्त मूल्य पाए गाभ्न र गाभिने दुबै विकल्पमा तयार छौँ-बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । राष्ट्र बैंकको निर्देशनात्मक सल्लाह आएपछि स्वदेशी तथा विदेशी पार्टनरको खोजीमा रहेको शाहले बताए । ‘निर्देशनपछि हामी नयाँ पार्टनरको खोजीमा छौं,’ उनले भने ‘हामीभन्दा ठूला र पुराना बैंकपनि छन् । ‘हामीलाई सुहाउँदो पार्टनर हुनु पर्यो र प्राइस पनि मिल्नु पर्छ,’ उनले थपे ‘ज्वाइन्टभेन्चर बैंक भएकोले हाम्रो पार्टनर विदेशी पनि हुन सक्छन् ।’

नेपालको बैकिङ इतिहासमा अग्रणी र पहिलो पटक विदेशी लगानीमा स्थापित तत्कालिन अरब बैंक (नबिल बैंक) को अहिले बजारमा उच्च सेयर मूल्य छ । बैंकले सेयरधनीलाई राम्रो लाभांश दिएको छ । चालु आवमा बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांस दिने निर्णय भएको छ । कुनैबेला बैंकले ७० प्रतिशतसम्म बोनस दिएको थियो ।

हरेक वर्ष समयमै साधारण सभा गरेर सेयरधनीलाई उचित लाभांश प्रदान गर्ने नबिल बैंकले आफ्नै बलीबुतोमा पुँजी पुर्याएको थियो । पछिल्ला वर्षमा निक्षेप संकलन तथा कर्जा प्रवाह तथा खराब कर्जामा अन्य बैंक अगाडि भएपनि नविल बैंकको साखलाई कसैले अहिलेसम्म प्रश्न गर्न नसकेको बैंक स्रोतले बतायो । ‘हामी हाम्रो साखमा आँच नआउने मर्जर प्रक्रियालाई अघि बढाउने तयारीमा छौं,’ सीईओ शाहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.