डा. महत र म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्रीबीच भेटवार्ता

  २०७६ असार २२ गते १२:५२     विकासन्युज

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आइतबार म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो ।

यसरी, म्यान्मारमा ठूलो सङ्ख्यामा नेपालीभाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो ।

त्यस्तैगरी, भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको जानकारी आफूले पाएको डा. महतले बताए । उनीहरुबीच द्विपक्षीय सहयोगको आदानप्रदानका साथै आगामी दिनमा सहयोगका धेरै क्षेत्रमा सहकार्य हुनसक्ने बारेमा पनि कुराकानी भएको थियो ।

सो भेटवार्तापछि यांगुनमा आयोजित गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकको उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

आइतबारदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ । उक्त बैठकमा एशिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिको समेत सहभागिता रहनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.