भारतको बजेटः अर्थतन्त्रको आकार पाँच वर्षमा दोबर पुर्‍याइने

  २०७६ असार २० गते १७:२७     विकासन्युज

काठमाडौँ । हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको शुक्रबार पहिलो बजेट प्रस्तुत गरेको छ । भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले बजेट पेस गरेकी हुन् ।

पाँच वर्षमा दोबर अर्थतन्त्र
मन्त्री सीतारमणले भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पाँच ट्रिलियन अर्थात् पचास खर्ब डलर बराबरको पुर्‍याउने घोषणा गरेकी छिन् । त्यसको अर्थ हो, आगामी पाँच वर्षमा भारतीय अर्थतन्त्रको आकार हालको भन्दा झण्डै दोबर पारिनेछ।

संसदमा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै उनले त्यो लक्ष्य हासिल गर्न थुप्रै नयाँ योजनाको घोषणा गरिन् । त्यस्ता नयाँ योजनाहरूमा सामाजिक पूर्वाधार विकासदेखि लिएर अन्तरिक्ष तथा वातावरणसम्बन्धी कार्यक्रमहरू समावेश छन् ।

सन् २०२२ भित्र सबै ग्रामीण परिवारको पहुँचमा बिजुली र सफा खानपानको सुविधा पुर्‍याउने घोषणा उनले गरिन् । आलोचकहरू भन्छन्–यी काम गर्नाका लागि स्रोत कताबाट ल्याइनेछ भन्ने चाहिँ प्रस्ट छैन।

बजेटमार्फत वार्षिक २ देखि ५ करोड भारु आम्दानी हुनेमाथि ३ प्रतिशतको अतिरिक्त कर लगाइने बताइएको छ । त्यस्तै वार्षिक ५ करोड भन्दा धेरै आम्दानी हुनेमाथि ७ प्रतिशतको अतिरिक्त कर लगाइने छ ।

बजेट ब्रिफकेसको परम्परा तोडियो
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतमा ब्रिटिश औपनिवेशिक कालदेखि नै प्रचलनमा रहेको बजेटको ब्रिफकेस बोकेर संसदमा जाने परम्परा तोडेकी छन् । त्यसको साटो उनले गाढा रातो रङ्गको परम्परागत बहिखाता बोकेकी थिइन् ।

उनको प्रमुख आर्थिक सल्लाहकार कृष्णामूर्ति सुब्रहमन्यमले यो कदमले ुपश्चिमा सोचाइप्रतिको दासताबाट अलगु भएको प्रतीक प्रस्तुत गर्ने बताए ।

आकांक्षा
यसपालिको बजेट त्यतिखेर प्रस्तुत भइरहेको छ, जतिखेर भारतमा मूल क्षेत्रहरूमा मन्दी छाएको, बेरोजगारी बढेको तथा विकासको गति पहिलेभन्दा खस्किएको चिन्ताहरू व्यक्त भएका छन् । तर ठूलो बहुमतका साथ दिल्लीको सत्तामा पुनः आएका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आम व्यवसायी तथा सर्वसाधारणको धेरै आकांक्षा छन् ।

त्यसैले यो बजेटमार्फत सरकारले कर्पोरेट जगतका लागि सुविधाहरू एवम् आम मानिसका निम्ति राहतहरू दिने कार्यमा सन्तुलन बनाउनु पर्ने देखिएको थियो ।

यसअघि बिहीवार भारत सरकारले त्यहाँको संस‌द्‌मा पछिल्लो आर्थिक सर्वेक्षण पेस गरेको थियो । त्यसमा बितेको वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशतमा रहने अनुमान गरिएको छ । (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.