कलंकी-महाराजगञ्ज सडकः तीनतिर हरियाली, चोकचोकमा स्काईब्रिज, स्वयम्भुमा सुरुङ

  २०७६ असार १९ गते ९:४३     विकासन्युज

काठमाडौं । कलंकी-महाराजगञ्ज चक्रपथ सडक खण्ड तीनतिर हरियाली हुने गरी विस्तार हुने भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणी रिमालका अनुसार कलंकी–कोटेश्वर खण्डमा देखिएका त्रुटिहरुलाई सच्याएर हाल कलंकी–महाराजगञ्ज सडकको डीपीआर निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘छेउमा दुई तिर र सडकको बीचमा हरियाली हुने गरि सडकको डिजाइन अन्तिम चरणमा पुगेको छ, कलंकी–कोटेश्वर खण्डका त्रुटि यसमा हटाइनेछ’, आयोजना प्रमुख रिमालले विकासन्युजसँग भने ।

चीन सरकारको सहयोगमा विस्तार भैरहेको चक्रथपको यो खण्ड पनि ८ लेनको हुनेछ । सडकका दुबै किनारमा वृक्षारोपण गरि हरियाली बनाईनेछ भने बीच भागमा पनि मेडन राखेर विरुवा रोपिनेछ । त्यसका अलवा यस खण्डमा पर्याप्त मात्रामा आकाशे पुल, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायतको व्यवस्था पनि गरिनेछ । ‘सबै चोकहरुमा आकाशे पुलको निर्माण हुनेछ, पैदल यात्रीको हित पनि हेरिनेछ’, रिमालले भने । उनका अनुसार सितापाइला, स्वयम्भु, बनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगम्बु, सामाखुसी, र बसुन्धारामा आकाशे पुलको निर्माण गरिनेछ ।

स्वयम्भुमा सुरुङ की फ्लाईओभर
विश्व सम्पदा सूचिमा रहेको स्वयम्भु क्षेत्रमा भने सुरुङ वा फ्लाईओभर निर्माण गर्नेबारे छलफल भैरहेको छ । ‘स्वयम्भुमा तीन वटा ठुला मुर्तिहरु सडकको क्षेत्राधिकर भित्र पर्छन्, विश्व सम्पदा सूचिमा रहेकाले भत्काउने भन्दा पनि सुरुङ वा फ्लाईओभर जोगाउनेबारे सोच्दैछौं’, रिमालले भने । आयोजनाले सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाउन निर्देेशन दिईसकेको छ । ढल, खानेपानी, विद्युतका पोल, निजी टहरा लगायतका संरचना हटाएपछि सन २०२० को आरम्भमा ठेक्का लगाउने तयारी छ ।

कलंकी–कोटेश्वर खण्डको काम सम्पन्न भएलगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँन लागेको हो । चीन सरकारको शतप्रतिशत अनुदानमा निर्माण हुने चक्रपथको काम ३ वर्षभित्र सक्ने लक्ष्य छ । कलंकी–चक्रपथ खण्डको निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

चक्रपथका घर भत्काइने
महाराजगञ्ज चोकका एक दर्जन घर भने भत्काइनेछ । सडकको क्षेत्राधिकार भित्र परेका त्यस्ता घरहरु भत्काउनै पर्ने अवस्था आएको आयोजना प्रमुख रिमालले बताए । ‘महाराजगञ्ज चोकमा सडकको क्षेत्रभित्र निर्माण गरिएका एक दर्जन घर भने भत्काउनुपर्ने अवस्था छ’, रिमालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.