पूर्वपश्चिम राजमार्ग पथलैया-कमला खण्ड चार लेनको बन्ने

  २०७६ असार १९ गते ८:१८     विकासन्युज

काठमाडौँ । पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्मको खण्ड चार लेनमा विस्तार हुने भएको छ । बढ्दै गएको सवारी साधन र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अगाडि बढाएको हो । पूर्वपश्चिम राजमार्ग अहिले दुई लेनको मात्र छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मेचीदेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने सरकारको योजनाअन्तर्गत बाराको पथलैयादेखि सिरहाको कमलासम्मको राजमार्गको सो खण्ड विस्तार गर्न प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।

राजमार्गको त्यस खण्डको विस्तारका लागि अहिले अध्ययन कार्य अन्तिम चरणमा रहेको बताउँदै उनले नयाँ आर्थिक वर्षको साउनदेखि नै राजमार्गको उक्त खण्डको डिजाइनको काम सुरु गरिने जानकारी दिए । डिजाइनको काम सम्पन्न भइसकेपछि विस्तारका लागि ठेक्कापट्टाको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

सडक विभागका अनुसार राजमार्गको सो खण्डको विस्तारको कुल अनुमानित लागत ४० अर्ब रुपियाँ छ । राजमार्ग विस्तारसँगै सो खण्डमा नयाँ पुल निर्माण, अहिले भएका पुलहरूको स्तरोन्नति तथा विस्तारसमेत गरिने छ । बाराको पथलैयादेखि सिरहाको कमलासम्मको कुल लम्बाइ १३० किलोमिटर छ ।

एक हजार २८ किलोमिटर कुल लम्बाइ रहेको सो राजमार्गको विस्तार दुई चरणमा गरिने बताउँदै सचिव कार्कीका अनुसार पहिलो चरणमा बुटवलदेखि पूर्वको खण्ड विस्तार कार्य सुरु भइसकेको छ । बुटवलदेखि पश्चिमको खण्डलाई दोस्रो चरणअन्तर्गत विस्तार गरिने छ ।

पहिलो चरणअन्तर्गत अहिले बुटवलदेखि नारायणगढसम्मको विस्तार कार्य सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैतमा सो राजमार्गको विस्तार कार्यको शिलान्यास गरेका थिए । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा राजमार्गको उक्त खण्डको विस्तार कार्य सुरु भएको हो । आगामी पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गको सम्पूर्ण खण्डको विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

पहिलो चरणअन्तर्गत नै विस्तार भइरहेको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको विस्तारका लागि डिजाइन तथा अध्ययन कार्य पूरा भई एक महिनाभित्र ठेक्का लाग्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.