भ्रष्टाचार निवारणः एउटा चोरले अर्को चोर समातेको मात्र हो !

  २०७६ असार १८ गते १४:३८      भीमप्रसाद उपाध्याय

भ्रष्टाचार व्यक्तिगत हैन सामाजिक रोग हो । व्यक्तिगत रोग भएको हुन्थ्यो भने भ्रष्टाचार निवारण धेरै सजिलो हुने थियो र राज्यका यतिका भ्रष्टाचार नियन्त्रण गर्न गठित राज्य संयन्त्रहरू निकम्मा भैरहने/हुने थिएनन् ।

भ्रष्टाचार नियन्त्रणका नाममा गठित राज्यका विभिन्न संस्थाहरू ब्यक्ति नियन्त्रण तिर हैन कि राज्य कार्यसंस्कृति तथा संयन्त्र ईमानदार बनाउने जुक्ति विकसित गरेर लागू गर्ने तिर लाग्नुपर्छ । नीति रणनीति कार्यनीति, संगठन संस्कृति पद्दति, पारदर्शिता, जवाफदेहीता, भ्रष्टाचार विरूद्धको जनचेतना, करप्सन पर्सेप्सन अध्ययन कार्य र स्वच्छ निकायहरूलाई प्रोत्साहन गर्ने र भ्रष्टाचार के गर्दा कम हुन्छ त्यसो सर्च सर्टिफिकेसन गर्ने काममा ईनोभेटिभ भएर लाग्नुपर्ने हुन्छ ।

लामखुट्टे र झिंगा समाउने/मार्ने काम गरेर पार लाग्दैन र ती लामखुट्टेहरू पनि यिनै निकायमा बराबर सरूवा भईरहेका हुन्छन् जसका विगत सबैले थाहा पाईसकेकै हुन्छन् । एउटा चोरले अर्को चोर समाएको मात्र हो भन्ने जनभावनामा सत्यता छ । चोरको पछि हैन चोरी प्रोत्साहित गर्ने समाज र राज्य संयन्त्रप्रति गिदी खियाउनु पर्छ ।

नेपालमा आजसम्म भ्रष्ट्राचार नियन्त्रण गर्ने दिशामा कुनै ठोस योजना र पहल नै भएको छैन । एकाध झिंगा मच्छर मारेरै दिन गुजार्ने आधा दर्जन भ्रष्टाचार नियन्त्रण गर्न भनी स्थापित संस्थाहरूलाई बेफ्वॉकमा जनताले पाल्नुपरेको छ । भ्रष्टाचार डढेलो जसरी सल्किदै गएको तीन दशक नाघिसक्यो ।

सरकारले जनतालाई सुविस्था, राहत र दैनिकीमा केही प्रभावकारी काम गरिनसकेको आजसम्मको अवस्थामा नचाहिने नयॉ तपसीलका झमेलाहरूमा फस्नु वुद्धिमानी हुदैन । राम्रो काम गर्दै गएर जनसमर्थन र विश्वास बढ्दै गएपछि अप्रिय भएपनि अलि कडा सुशासन कायम गर्ने काममा हात हाल्न थाल्नुपर्छ । नयॉ सरकारहरू बनेपछिको आजसम्म जनताले कुनै सुविधा र सहजता पाएको महसुस न केन्द्र न प्रदेश न स्थानीय सरकारको तर्फबाट गरेका छन् भन्ने हेक्का सत्ताधारी पात्रहरूले राखे मात्र सरकार र जनताको भलाई होला है । नत्र त गईल भैंस पानी में हुन बेर लाग्दैन ।

जनता सन्तुष्ट भैरहेको दृष्टिगोचर छैन, सरकार त जहिले पनि कोही न कोही भईरहेको वा भैरहने नै छ । विश्वास र भरोसा गुम्यो भने अंक गणित काम लाग्दैन, किनभने सरकार अंकगणित हो भने जनभावना ज्यामीति हो।

निजामति सेवा भनेको बेस्ट ब्रेनलाई वर्स्ट ड्रेनमा जाकिएको प्रशासन प्रणाली हो, निजामति भित्रपनि बेस्ट अफ द बेस्ट ब्रेन भनेका प्राविधिज्ञ वर्ग हुन् । तर जे जस्तो भएता पनि यसैले गर्दा नै आजसम्म पिंद नभएको लोटा जस्तो अस्थिर भॉडभैले राजनीतिक व्यवस्थाका अनेक रूप र रंगबाट मुलुकलाई ध्वस्त हुनबाट निरन्तर जोगाउदै आएको हो ।

भलै राजनीतिक सकारात्मक परिवेश र अनुकूल कार्यसंस्कृति एवम् वातावरण कहिले विद्यमान नहुँदा यसले नयॉ केही वनाउन सकेन र सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.