दश बर्ष भयो, बैंकबाट निक्षेपकर्ता खाली फर्कनुपरेको छैन : अर्थमन्त्री

  २०७६ असार १७ गते ११:५७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा ल्याएको वित्तीय क्षेत्रको सुधारले बैंकिङ क्षेत्रप्रतिको विश्वसनीयता र प्रभावकारिता वृद्धि हुँदै गएको दाबी गरेका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको ‘एशिया प्यासिफिक क्षेत्रमा वित्तीय ग्राहकहरुको संरक्षण र शिक्षा’ विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा सुरु गरिएको निक्षेपको बीमा कार्यक्रमबाट २ करोड ५० लाख निक्षेपकर्ताहरुले सुरक्षाको प्रत्याभुति पाएको दाबी गरेको भन्दै बैंकिङ क्षेत्रमा ल्याएको गुणात्मक सुधारका कारण बैंकिङ क्षेत्रप्रतिको विश्वसनीयता वृद्धि हुँदै गएको बताएका हुन् । उनले आफ्नो कार्यत्रकालमै संस्थागत सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन लगायतका विषयहरु विद्यालयको पाठ्यक्रमै समावेश गर्ने प्रयास गरेको समेत बताए ।

बैंकिङ क्षेत्रमा यस्तो सुधारका बाबजुद अझै पनि यो लगायत बीमा, मर्चेन्ट बैंकर, ब्रोकर तथा अन्य गैरबैंकिङ वित्तीय संस्थाहरु अन्तराष्ट्रिय स्तरको र आधुनिक प्रविधिमैत्री हुन नसकेको र वित्तीय पहुँच बढ्दै गए पनि जनतामा वित्तीय ज्ञानभने अपेक्षाअनुरुप नबढेको समेत उनले भनाई थियो । कुन बैंक सुरक्षित छ, कुन बीमा कम्पनी बढी लाभदायक छ भन्ने ज्ञान अझैपनि वित्तीय क्षेत्रका अधिकांश ग्राहकसँग नभएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसैकारण बजार विवेकशील ढंगबाट चल्न नसकेको बताए । आजकल हुने अधिकांश वित्तीय अपराधहरु र कानूनका उल्लंघनका घटनाहरु जानबुझ भन्दा पनि अज्ञानताकै कारण हुने गरेको समेत उनकाे भनाइ थियाे ।

जाेखिम नहुन्जेल आफू लाभ लिने र जाेखिम हुँदा सरकारलाई दाेष दिने प्रवृति ठीक नभएकाे पनि उनले बताए । ‘कुनै बैंक डुब्यो भने हामी केन्द्रीय बैंकमा गएर धर्नामा बस्छौं बैंकबाट लिने फाइदा भने हामी एक्लै खल्तीमा हाल्छौं, हाम्रो वित्तीय साक्षरता त्यही हो ।’ उनले भने – ‘जनतामा रहेको यस्तै अल्पज्ञान र विवेकशील व्यवहारको कारणले विभिन्न क्षेत्रमा सरकार र नियामकको हस्तक्षेपको आवश्यकता परेको हो ।’ उनले बजार आफैं चल्छ भन्ने मान्यतालाई २००८ को मन्दीले गलत स्थापित गरेको भन्दै बजारमा उपभोक्ताहरुले विवेकशील ढंगबाट व्यवहार गर्छन भन्ने सिद्धान्त गलत साबित भइसकेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले विश्वमा भित्रदै गएको नयाँ प्रविधिहरु नियामकको लागि थप चुनौती बन्दै गएको भन्दै नियामकहरु त्यस्तो प्रविधिप्रति जागरुक रहनु आवश्यक रहेको समेत बताए । आफू २५ वर्षसम्म नेपाल राष्ट्र बैंकमा बसे पनि क्लाउड सिस्टम के हो, यसले कसरी काम गर्छ भन्ने थाहा नभएको भन्दै यस्तो अवस्था आफूमात्र नभएर अधिकांशको रहेको समेत उनले बताए ।

सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सरकारले हाल वित्तीय साक्षरता रणनीति बनाइरहेको भन्दै यसलाई बोर्डले आफ्नो पक्षबाट सक्दा कार्यन्वयन गर्दैजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले हाल सेबोनले राष्ट्रव्यापी मिडिया तालिम तथा अन्तरक्र्रिया कार्यक्रम गरेको र यसले मिडियाकर्मीको माध्यमद्वारा वित्तीय जागरणमा सकारात्मक प्रभाव पर्दै गएको भन्दै उनले वित्तीय उपभोक्ताको शिक्षा र संरक्षण नै आफूहरुको अन्तिम लक्ष्य भएको समेत बताए ।

नेपाल धितोपत्र बोर्ड र आर्थिक सहकार्य र विकास संगठन (ओईसीडी) को सहकार्यमा भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा मंगलबार र बुधबार काठमाडौंमा चल्नेछ जसमा ग्राहकको संरक्षण र शिक्षाका विषयमा करिब २० जना भन्दा बढी विज्ञहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.