कमोडिटिज कम्पनीः ६ वटाको आवेदन, २ वटा लाइसेन्सका लागि चलखेल शुरु

  २०७६ असार १७ गते ८:४७     विकासन्युज

काठमाडौं । ६ वटा कम्पनीहरुले कमोडिटिज एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले तोकेको असार ११ गतेको समय सिमा भित्र ६ वटा कम्पनीले लाइसेन्सका लागि अनुमति दिएका हुन् । बोर्डका अनुसार राइजल कमोडिटिज एक्सचेञ्ज, कमोडिटिज फ्युचर एक्सचेञ्ज, नेपाल मर्कन्टाईल एक्सचेञ्ज, नेपाल डेरिभेटिभ कमोडिजिट एक्सचेञ्ज, मल्टिडेरिभेटिभ कमोडिजिटज एक्सचेञ्ज र नेशनल कमोडिटिज एण्ड डेरिभेटिभले आवेदन दिएका हुन् ।
बोर्डले जम्मा २ वटा कमोडिटिज कम्पनीलाई मात्रै लाइसेन्स दिने स्पष्ट पारिसकेको छ । आवेदन दिएकामध्ये २ वटाले मात्रै लाइसेन्स पाउने स्पष्ट व्यवस्थाका कारण चलखेल शुरु भएको आशंका गरिएको छ । ‘आवेदन दिएका सबै कम्पनीका सञ्चालक अब्बल छन्, सबैले तोकिएको मापदण्ड पूरा गरेरै आवेदन दिएका छन्, अब २ वटा मात्रै छान्न कम सकस छैन, चलखेल हुने त पक्का छ’, श्रोतले भन्यो ।

यस अघि आवेदन खुलाउँदा जम्मा ५ वटा कम्पनीले मात्रै इच्छा जाहेर गरेका थिए । बोर्डले भने २ वटालाई मात्रै लाइसेन्स दिने भन्दै पुरानो प्रक्रिया रद्द गरेर नयाँ आरम्भ गरेको थियो । तर, संख्या घट्नुको साटो झन वृद्धि भएको छ । २०७४ भदौ ११ गते वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ जारी भएको थियो भने मंसिर ९ गते नियमावली कार्यान्वयनमा आएको थियो ।

यस अघिको आवेदनमा नेपाल कमोडिटिज एक्सचेञ्ज लिमिटेड, मर्कन्टाइल एक्सचेञ्ज लिमिटेड, कमोडिटिज फ्युचर्स एक्सचेञ्ज लिमिटेड, मल्टी डेरिभेटिभ एक्सचेञ्ज नेपाल लिमिटेड र राइजल कमोडिटी एण्ड एक्सचेञ्ज लिमिटेडले पूर्व स्वीकृतिका लागि निवेदन दिएका थिए । कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने थियो । त्यस्ता कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनुपर्ने व्यवस्था थियो ।

बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक बर्ष २०७२/७३ मा कमोडिटिज मार्केट्समा २ खर्ब ९५ अर्ब ३२ करोड रुपैंयाँको कारोबार भएको थियो । आर्थिक बर्ष २०७३/७४ को ८ महिनामै २ खर्ब २६ अर्ब ८३ करोड रुपैंयाँको कारोबार भएको थियो । जबकी गत आर्थिक बर्ष २०७४/७५ को ८ महिनामा सेयर बजारमा जम्मा ८५ अर्ब ९ करोडको मात्रै सेयर कारोबार भएको थियो । अर्थात् नेपालमा कमोडिटिज बजारको आधार सेयर बजारको भन्दा ठूलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.