साझाका २० बस थपिए, विद्युतीय बस सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारसँग सम्झौता

  २०७६ असार १६ गते १५:१९     विकासन्युज

काठमाडौं । साझा यातायातले ल्याएका नयाँ २० वटा बसहरु आजदेखि सञ्चालन हुन थालेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र साझा यातायाताका अध्यक्ष कनकमणी दिक्षितले नयाँ बस सञ्चालनको उद्घाटन गरेका हुन् ।

आजदेखि सञ्चालनमा आएका युरो ४ का बसहरु उपत्यकाका विभिन्न रुटहरुमा सञ्चालन हुने छन् । साझाले आजबाट साझा कार्डपनि प्रयोगमा ल्याएको छ । जसबाट यात्रुले सेवा प्रयोग गरेका भाडा तिर्न सक्नेछन् ।

नयाँ २० वटा बस मध्ये ६ वटा बस नयाँ बसपार्क, बालाजुचोक, बनस्थिली, स्वयम्भु, कलंकी, त्रिपुरेश्वर, रत्नपार्क, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी पेप्सीकोला, पुरानो ठिमी, भक्तपुर व्यासी–कमलविनायक, च्यामासिङ, जगाती हुँदै सुर्यविनायक रुट हुँदै गुड्ने छन् । ती बाहेक ६ वटा बस नयाँ बसपार्कदेखि माथि उल्लेखित रुट हुँदै जडिबुटीबाट कौशलटार, राधेराधे, कटुङ्जे, चोक, सूर्यबिनायक, च्यामासिङ, कमलविनायक रुटमा सञ्चालन हुने छन् । ८ वटा बस नयाँ बसपार्क, बसुन्धारा, नारायणगोपाल चोक, चण्डोल, सुकेधारा, चाबहिल, गौशाला, एयरपोर्ट सिनामंगल, नयाँ बानेश्वर, थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेलमा सञ्चालन हुने छन् ।  २० वटा नयाँ बस सहित अब साझाको बसको संख्या ७१ पुगेको छ ।

यसैबीच, आजै साझा सहकारीले निकट भविश्यमा सञ्चालन गर्ने विद्युतीय बसका लागि ३ नम्बर प्रदेश सरकार, काठमाडौं  महानगरपालिका र ललितपुर महानगरपालिकाले शेयर हालेको छ । प्रदेश सरकारले ३० करोड, ललितपुर महानगरपालिकाले २ करोड ५० लाख चेक साझालाई हस्तान्तरण गरेको छ भने काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ साझामा लगानी गर्ने भएको हो । साझा सहकारीले पनि विद्युतिय बस सञ्चालन गर्न २ करोड ५० लगानी गर्ने भएको छ ।

आजै ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातबीच सझौता भएको छ । साझाले चाँडैनै विद्युतिय सब सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कार्यक्रममा ३ नम्बर प्रदेश सरकार मुख्यमन्त्री डोरमणी पौडेलले साझा बसमा घाटा भएपनि जनताको सेवा र सुविधालाई मध्यनजर गर्दै प्रदेश सरकारले लगानी गरेको बताए । देशमा नै उत्पादित उर्जाबाट विद्युतीय बस सञ्चालन गर्दा देशको व्यापार घाटा पनि कम र प्रदुषण कम हुने बताए । कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले भने– ‘ जनप्रतिनिधिहरुले केही गरेनन् भन्ने जनगुनासो थियो । हामीले आजबाट राम्रो कामको सुरुवात गरेका छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.