बिकेन हरियो चियापत्ति, विरोधस्वरुप किसानले सडकमै फाले

  २०७६ असार १६ गते ८:२६     विकासन्युज

इलाम । उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती फालेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया फालेका छन् ।

किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया फालेर विरोध जनाए । यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम रु ४० कायम गरेको थियो ।

उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आबद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो ।

समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो । उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले अर्को आन्दोलन थालेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.