शेर्पा हाेटल बन्द गरेपछि मात्र कराेडौं फाइदा भयो, बैंकको सेयरमा सधैं बोनस आउँछ- प्रकाश श्रेष्ठ

  २०७६ असार १५ गते २१:५५     विकासन्युज

प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड

वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि यो बैंकको विकास र विस्तार सुस्त छ । फेरि अर्थ मन्त्रालय र राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान चर्को दवाव दिइरहेका छन् । यस अवस्थामा यो बैंकले के गर्ला ? प्रस्तुत छः पर्यटन व्यवसायी, होटल एशोशिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा बैंक अफ काठमाण्डूको अध्यक्ष प्रकाश श्रेष्ठसँग गरिएको विकास वहस ।


व्यवसायिक यात्रा कस्तो छ ?

पर्यटन व्यवसायमा मैले लामो समय बिताए । भलै सोचे जस्तो सफलता हासिल गर्न सकिएको छैन । मैले मात्र होइन, नेपालले नै पर्यटन क्षेत्रमा राम्रो प्रगति गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको मचान वाईल्ड लाइफ रिसोर्ट बन्द भएपछि अहिले नवलपरासीमा मचान कन्ट्रि भिला चलाइरहेको छौं । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण अवधि लामो हुँदा र त्यस अवधिमा यात्रा निकै कठिन भएपछि चितवन र आसपास क्षेत्रको पर्यटन व्यवसाय धरापमा परेको छ । त्यसैले नवलपरासीको होटल पनि सोचे जस्तो राम्रो हुन सकेको छैन ।

त्यस्तै, बैंक अफ काठमाण्डूको अध्यक्ष छु । बैकिङ मेरो कोर विजनेश होइन तर पनि बैंकका सेयरधनीहरुको सुझाव र सहयोगमा हामी अगाडि बढिरहेका छौं ।

कस्तो हुँदै छ बैंक अफ काठमाण्डूको विजनेश ?

सबैलाई थाहा छ कि नेपालमा उद्योग व्यवसाय फस्टाउन सकेको छैन । नेपालका उद्योगहरूले चीन र भारतसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । उद्योग व्यवसाय विस्तार राम्रो भएको अवस्थामा मात्र बैंकहरूले राम्रो गर्न सक्छन् । त्यस्तै बैंकहरूबीचको विजनेश पनि निकै प्रतिस्पर्धात्मक छ । त्यति हुँदा हुँदै पनि बैंक अफ काठमाण्डूले राम्रो गरिरहेको छ ।

आजको दिनमा बैंक चलाउन कति गाह्रो छ ?

पहिलाको तुलनामा अहिले स्थिति अनुकूल बनेको छ । आम नागरिकमा बैकिङ बानीको विकास हुँदै गएको छ । बैंकिङ कारोबार पनि सजिलो बन्दै गएको छ । कार्ड पेमेन्ट, डिजिटल पेमेन्टले बैकिङ कारोबार सहज भएको छ । बैकिङ क्षेत्रको ग्रोथ पनि राम्रो देखिन्छ ।
मैले पहिला पनि भने जब अरु व्यवसाय फस्टाउँछ तब बैंक पनिसँगै अगाडि जान्छ । उद्योग, जलविद्युत, पर्यटन, व्यापार, अन्य सेवाको क्षेत्र राम्रोसँग चल्यो भने बैंक पनि राम्रो हुन्छ ।

८/१० वर्ष पहिले बैंक अफ काठमाण्डू नेपालका राम्रा ५/७ वटा बैंकभित्र पर्दथ्यो । बैंक अफ काठमाण्डू र एभरेष्ट बैंक उस्तै हैसियतमा थिए । इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले बैंक अफ काठमाण्डूलाई प्रतिस्पर्धी ठानेका थिए । दुई स्वस्थ्य अवस्थामा रहेका लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि यो बैंकले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, अहिले यो बैंक निकै पछाडि परेको देखिन्छ, किन ?

तपाईले जे भन्नुभयो अरु धेरैबाट मैले यो कुरा सुन्छु । यस बैंकप्रति सकारात्मक रुपमा सोच्नेहरुले हामीलाई घच्घच्याई रहनुभएको छ । निश्चित रुपमा मैले पनि महसुश गरेको छु कि रेसमा हामी पछाडि परेका छौं ।

इतिहासका बारेमा म धेरै बोल्न चाहान्न । लुम्बिनी र बैंक अफ काठमाण्डू मर्जपछि म अध्यक्ष भएँ । त्यसपछि बैंक बलियो बन्दै गएको छ । बैंकले दिने सेवा राम्रो भएको छ । बैंकको वित्तीय अवस्था पनि बलियो छ । सेयरधनीले पनि राम्रो प्रतिफल पाएका छन् । गत आर्थिक वर्षमा हामीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएका थियौ । यो वर्ष पनि कम्तिमा १६÷१७ प्रतिशत लाभांश दिन सकिन्छ जस्तो लाग्छ । शाखा विस्तारमा, विजनेश विस्तारमा हामी केही सुस्त छौं तर बैंक बिग्रेको छैन । झन् राम्रो र बलियो बन्दै गएको छ ।

केही वाणिज्य बैंकको वासलात २५० अर्ब नजिक पुगेको छ । तर बैंक अफ काठमाण्डूको वासलातको आकार १ सय अर्बभन्दा पनि कम छ । धेरै पछाडि परियो भन्ने लाग्दैन ?

हो, विजनेश एक्सपान्सनमा हामी एग्रेसिभ भएनौ । त्यसको रिस्क फ्याक्टरहरू पनि हामीले विश्लेषण गरेका छौं । हामीले धेरै जोखिम लिएनौ, हामी सुरक्षित यात्रालाई जोड दियौं । अब हामी एग्रेसिभ हुन्छौं ।

बैंक अफ काडमाण्डूको सुस्त ग्रोथको कारण बजार प्रतिकूल हुनु हो कि बैंक भित्रको आन्तरिक समस्या हुन् ?

आन्तरिक समस्या केही पनि छैन । व्यवस्थापन र बोर्डबीच अत्यन्तै राम्रो सम्बन्ध छ । हामी शाखा विस्तार गर्न, ब्राण्डिङ गर्न, विजनेश विस्तार गर्न एग्रेसिभ देखिएनौ ।

अहिले पनि बोर्ड र व्यवस्थापनबीचको सम्बन्धमा बारेमा समाचारहरु आइरहेका छन् । सीईओ शोभनदेव पन्तको राजीनामा तपाईको खल्तीमा छ समेत भनिन्छ नि ?

मलाई पनि धेरैले यस्तो प्रश्न सोधिरहेका छन् । तर, त्यस्तो केही समस्या छैन । शोभनदेवजीको चाहना कुनै बेला छोड्ने पनि थियो होला । तर अहिले उहाँले छोड्ने वा हामीले अर्को सीईओ ल्याउने विषयमा कुनै कुरा भएको छैन । त्यो सबै गलत हल्ला हो । बैंकलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल वहस हुन्छ । राजीनामा गरेको भन्ने हल्ला कहाँ बाट आयो ? म आफै छक्क परेको छु ।

बाणिज्य बैंकबीच आपसमा मर्जपछि एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभुमा सिनर्जी इफेक्ट देखियो तर बैंक अफ काठमाण्डूमा देखिएन, किन ?

दुई बैंकबीच मर्ज भएपछि कल्चर मर्ज हुन समय लाग्दो रहेछ । पहिलो १÷२ वर्ष त कल्चर मिक्स गर्न नै लाग्यो । जब हामी कल्चर, वर्किङ स्टाईल मर्ज गर्यौं र सहज अवस्थामा आईपुग्यौ तब बजारमा प्रतिकूल अवस्था पनि देखियो । तरलताको अभाव पनि देखियो । निक्षेप वृद्धि कठिन भयो । त्यसले पनि हाम्रो ग्रोथ अलि कमदरमा भयो ।

अर्थमन्त्री, गभर्नरले फेरी पनि मर्ज हुनुपर्छ भन्नुभएको छ । बैंक अफ काठमाण्डू के गर्छ ?

पहिला पनि सरकारले बैंकहरूको संख्या घटाउन चाह्यो । अहिलेको अर्थमन्त्री गभर्नर हुनुहुन्थ्यो । उहाँले त्यतिबेला पनि बैंकहरूबीच मर्जरमा जोड दिनुभएको थियो । हामीले सरकारको नीतिमा सहयोग गर्दै मर्ज गर्यौं ।

मलाई के लाग्छ भने बैंकहरूको संख्या घटाउनु नै राम्रो हुन्छ । बैंक अफ काठमाण्डू फेरि पनि मर्जमा जान सक्छ । यो मेरो बैंक हो भनेर हामी समातेर बस्दैनौ । हामी राम्रो बैंकसँग मर्ज गरेर जानसक्छौं ।

अबको मर्ज के का लागि ?

अझ राम्रो गर्नको लागि । अझ बलियो बैंक बन्नुपर्छ । हामी लुम्बिनी बैंक हुँदा हाम्रो क्षमता जति थियो अहिले धेरै बढेको छ । अब मर्ज भयौ भने हामी झन् बलियो हुनेछौं ।

मर्ज विना नै नविल, एसवीआई, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायत बैंकहरु पनि बलिया भएका छन् । मर्ज नै अनिवार्य हो र ?

तपाईले नाम लिएका बैंकहरू, इन्भेष्टमेन्ट, हिमालयन लगायत बैंकहरू पहिला देखि नै ठूला र बलिया थिए । नयाँ र कमजोर बैंकहरू बलियो बन्नको लागि मर्ज एउटा उपयुक्त विधि हो ।

आजको दिनमा बैंक अफ काठमाण्डूको सेयरमा गरिएको लगानी कति सुरक्षित छ ? कति फाइदाजनक छ ?

मलाई लाग्छ सुरक्षित छ र फाइदा पनि छ । आज होटलमा नै गरिएको लगानीले पनि कति नाफा दिन्छ र ? कम से कम बैंकमा गरिएको लगानी सुरक्षित छ । हुनसक्छ सेयर मूल्य नबढ्ला तर लाभांश आइरहेको हुन्छ नि ।

यतिबेला होटलमा लगानी निकै बढेको देखिन्छ । तपाईसँग होटल र बैकिङ दुबै क्षेत्रको अनुभव छ । कुन क्षेत्रमा गरिएको लगानी लाभदायक हुन्छ ?

म एउटा उदाहरण दिन्छु, दरवार मार्गको शेर्पा होटल बन्द भयो । सञ्चालनमा रह्दा त्यो होटल कहिल्यै पनि नाफामा गएन । तर रियलस्टेटको मूल्य निकै बढ्यो र बेच्दा करोडौ फाइदा भयो । अरु देशमा जस्तो नेपालले पर्यटन क्षेत्रमा फड्को मारेन । नेपालको होटलमा म्यारिएट् आयो, शेराटन आउँदैछ । निजी क्षेत्रको लगानी जति भएको छ सरकारी तहबाट पूर्वाधार विकासमा त्यति लगानी भएन । पोखरा विमानस्थल बनेपछि, लुम्बिनी एयरपोर्ट बनेपछि हुनसक्छ, होटलहरुले पनि राम्रो नाफा गर्न सक्छन् ।

मेलम्चीमा फसेको पैसा आउँछ कि आउँदैन ?

यस विषयमा धेरै पोजेटिभ डेभलपमेन्ट भएको छ । अदालतको अन्तिम फैसला बैंकका पक्षमा आउँछ भन्नेमा हामी विश्वस्त छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.