जनताले भात खाएकोमा सरकारको टाउको दुखाइ, ११ महिनामा साँढे ३० अर्बभन्दा बढीको चामल भित्रियो

  २०७६ असार १५ गते १२:१५     सुनिता पुडासैनी

काठमाडौं । जनताले भात खाएकोमा सरकारले टाउको दुखाएको छ । नेपालीले औसतभन्दा बढी भात खाँदा चामल आयात बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्पष्ट पारेको छ । नेपालीको खाने बानीमा परिवर्तन हुन नसक्दा अर्थात भातै खाने प्रवृतिका कारण चामल आयात वर्सेनि बढ्दै गएको हो ।

कृषि क्षेत्रमा उत्पादन बढे पनि जनसंख्याको वृद्धिसँगै चामलको माग बढको र नेपालीको खानामा भातको बढ्दो प्रयोगका कारण चामल आयात गर्नुपरेको मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईले बताए । हाम्रो उत्पादनले भ्याउन सक्ने अवस्था छैन,’ उनले भने– ‘प्रत्येक वर्ष ६ लाख मेट्रिक टन चामल आयात हुने गरेको छ ।’

साधारण मानिसले प्रतिवर्ष ९० केजी चामल खानु पर्नेमा १४० केजीसम्म खाइरहेको छन् । नेपालमा उत्पादन भएका अन्य खाद्यान्न उपभोगमा खासै उपयोग नहुँदा चामल आयात वर्सेनि बढ्दै गएको छ । हाल मासिक साढे दुई अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात हुने गरेको छ ।

चालु आवको ११ महिनामा विभिन्न ब्राण्डका ३० अर्ब ५८ करोड रुपैयाँको चामल नेपाल भित्रिएको छ । सरकारले कृषि क्षेत्रमा ठूला लगानी गरेपनि यसबाट उचित प्रतिफल पाउन नसक्दा परनिर्भरता बढ्दो छ । राणा तथा पञ्चायतकालमा भारतमा धान चामल निर्यात गरेर व्यापार सन्तुलन हुने गरेकोमा अहिले धान चामल बढी आयात भएका कारण ब्यापार घाटा चुलिँदो अवस्थामा छ ।

राणाकालमा नेपालबाट चामल निर्यातकै कारण नेपालको भारतसँगको ब्यापार नाफामा थियो । अहिले कुल वैदेशिक व्यापारमा भारतसँगको व्यापार दुई तिहाई रहेको छ । यस बाहेक भारतसँग खुल्ला सीमाना भएको हुँदा ठूलो परिमाणमा धान चामल भन्सार छलेर पनि नेपाल भित्रिने गर्छ ।

चालु आर्थिक वर्षको ११ महिनामा भारतबाटमात्रै आठ खर्ब ४१ अर्बका वस्तु तथा सेवा नेपाल भित्रिएको छ । नेपालमा ठूलो परिमाणमा धान उत्पादन भएपनि चालु आवमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.