उद्योग क्षेत्रमा विदेशी लगानी ६८ प्रतिशतले घट्यो, किन आकर्षित भएनन् लगानीकर्ता ?

  २०७६ असार १३ गते १७:२२     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानीको अवस्था निराशाजनक छ ।

उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो वर्षको ११ महिनाको तुलनामा विदेशी लगानी पछिल्लो ११ महिनामा ३६ अर्बले लगानी घटेको छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग क्षेत्रमा विदेशी लगानी झण्डै ६८ प्रतिशतले घटेको छ ।

विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/७५ को असारसम्ममा उद्योग क्षेत्रमा विदेशी लगानी ५२ अर्ब करोड ८७ लाग ८० लाख रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा यो लगानी घटेर २७ अर्ब ७९ करोड ३० लाख रुपैयाँमा झरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानीका उद्योग दर्ताको संख्यापनि १४ दशमलव ६६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७४/७५ को असारसम्ममा ३४१ उद्योग दर्ता भएका थिए भने सोही अवधिमा चालू आर्थिक वर्षमा २९१ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागमा विदेशी लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । चालू आर्थिक वर्षको असार १३ गतेसम्मको तथ्यांकनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवामूलक छन् । विभागमा दर्ता विदेशी लगानीका २९१ उद्योगमध्ये पर्यटन उद्योगका ९९ वटा दर्ता छन् । सेवामूलक उद्योग भने ९४ वटा दर्ता भएका छन् ।

यसैगरी, उत्पादनमूलक उद्योग ५८ वटा, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २३ वटा, कृषिजन्यमा १५ वटा र खनिजमा २ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग व्यवसायमा लगानी घटेको सम्बन्धमा उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने-‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्विकृती नभएकाले पनि नेपालमा आउने लगानीमा कमी देखिएको हो ।’ अहिले १० करोड भन्दा तलको लगानी प्रदेश सरकारले र ६ अर्बभन्दा माथिको लगानी उद्योग विभागले नहेर्ने भएकाले पनि कमी देखिएको सिंहले बताए ।

यस सम्बन्धमा विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले भने- ‘हामीले अहिले १० करोडदेखि ६ अर्बसम्मको मात्रै लगानी स्विकृत गरिरहेका छौ ।’ फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने जानकारी दिए ।

उद्योगी उमेशलाल श्रेष्ठले भने पछिल्लो समयमा उद्योग क्षेत्रमा विदेशी लगानी घट्नु र नेपालको समग्र उद्योग क्षेत्रको लगानीमा कमी आउनुमा उपयुक्त नीति नहुनु कारक रहेको बताए । नेपालमा उद्योग सञ्चालन गर्दा मुनाफा कम भएरपनि विदेशी लगानीकर्ताको लगानीमा कमी आएको श्रेष्ठले बताए ।

समग्र लगानी ११ प्रतिशतले घट्यो
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योग क्षेत्रमा ११ प्रतिशतले लगानी घटेको छ । गत आवमा ३ खर्ब ५ अर्ब ६६ करोड १० लाख लगानी आएको थियो भने चालु आर्थिक वर्षमा २ खर्ब ११ अर्ब २४ करोड ४७ लाख मात्रै लगानी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.