बढ्न छाड्यो लघुवित्तको आईपीओको मूल्य, कुन शेयरको मूल्य कतिमा रोकिए ?

  २०७६ असार १३ गते १५:३२     विकासन्युज

काठमाडौं । केही समय अघिसम्म लघुवित्तको शेयरलाई सुनको फुल पार्ने हाँसको रुपमा लिइन्थ्यो । एक हजार रुपैंयाको लगानी ५/६ महिनामै २०/२५ गुणासम्म पुग्थ्यो । कुनै कम्पनीको शेयरमूल्य त ४ हजार रुपैंयाभन्दा माथिसम्म पनि पुगेको थियो । कुनै कम्पनीले हकप्रद वा बोनस जारी गर्न समायोजन गरेको मूल्यले २/४ दिनमै ‘रिकभरी’ लिन्थ्यो फलस्वरुप दिइएको हकप्रद वा बोनस सित्तैमा पाइएजस्तो हुन्थ्यो ।

तर, समय बदलियो, अहिले बल्लबल्ल परेको आईपीओको भाऊ पनि ५०० रुपैंया माथि जाँदैन, हकप्रद र बोनसको मूल्य समायोजन भएपछि शेयरमूल्य बढ्ने त कुरै छैन, बरु दिनदिनै घट्न थाल्छ । हालसम्म दोस्रो बजारमा सूचीकरण भएको सबैभन्दा पछिल्लो लघुवित्त कम्पनी गणपति माइक्रोफाइनान्स हो । अधिकतम ४३८ रुपैंयामा कारोबार भई ४३६ रुपैंयामा कारोबार रोकियो । उक्त शेयरको कारोबार बिहीबार मात्रै ६ हजार कित्ताभन्दा बढी भयो ।

बजारमा जब खरिद चाप बढी हुन्छ र बिक्रीको चाप कम हुन्छ, यसले मूल्य बढ्ने आधार तय गर्छ र यसको ठीक विपरित बिक्रीको चापले मूल्य घटाउने आधार तयार गर्छ । अझ उच्च मूल्यवृद्धिको क्रममा रहेका शेयरहरुमा त बिक्री फाट्टफुट्ट मात्रै भेटिन्छन् । गणपतिको यति धेरै कारोबार हुनु र अधिकतम मूल्यबाट घटेर कारोबार हुनुले अब सो कम्पनीको शेयरमूल्य यही आसपास अडिने सम्भावना देखिन्छ ।

गणपति भन्दा केही दिनअघि मात्रै सूचीकरण भएको आशा लघुवित्तको शेयरमूल्य अधिकतम ५१० रुपैंयासम्म पुग्यो, त्यसपछि घट्न थालेको शेयर बिहीबार ४०१ रुपैंयामा झरेको छ । नेपाल एग्रोको शेयरमूल्यले ५०० को विन्दुलाई त छोएको छ, यसको पनि बिहीबार मात्रै १२ हजार कित्ता भन्दा बढी शेयर कारोबार भयो, यसको अर्थ अब यसको मूल्य पनि धेरै माथि जाँदैन ।

त्यसो त केही समय अधिक माथि शेयरमूल्य पुगेका उन्नति, नाडेप, सपोर्ट, आरम्भ लगायतका माइक्रोफाइनान्सहरुको शेयरमूल्य समेत अहिले सोही हाराहारीमा आएको छ । नाडेप, उन्नति र सपोर्टले यसअघि हकप्रद शेयर जारी गरेर शेयरमूल्य केही समायोजन गरेको भएपनि समायोजित मूल्यभन्दा यी शेयरहरुको भाऊ निकै तल गइसकेको छ । २००० रुपैंया नजिक रहेको उन्नतिले दिएको २० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको थियो, तर मूल्य भने १९५९ रुपैंयाबाट ८३० रुपैंयामा झरेको हो ।

त्यस्तै, ३ बराबर २ अनुपातमा हकप्रद जारी गरेको सपोर्टको मूल्य १२४१ रुपैंयाबाट ४०० मा झरेको छ । त्यस्तै शतप्रतिशत हकप्रद जारी गरेको नाडेपको मूल्य सामान्यतया ५० प्रंतिशत भन्दा कमले मात्रै घट्नुपर्नेमा १५५० सम्म पुगेको शेयरमूल्य ४६४ मा सीमित रहन गएको छ ।

किन बढ्न छाड्यो मूल्य ?

बजारमा दिनप्रतिदिन लघुवित्तको शेयर आउनु तथा नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको पुँजी वृद्धिसम्बन्धी दिएको नीतिका कारण पछिल्लो समय लघुवित्त समूहका शेयरमूल्य घट्न थालेको सरोकारवालाहरु बताउँछन् । सानो पुँजीबाट सुरु भएका लघुवित्तलाई पुँजी पर्याप्तता अनुपात कायम गरी व्यवसाय विस्तार गर्न थप पुँजी आवश्यक भएकोले लघुवित्तको शेयरको आपुर्ति बढ्दै गएको र यसैको प्रभाव शेयरमूल्यमा देखिएको उनीहरु बताउँछन् । यसले गर्दा लघुवित्तकाे शेयरमा आकर्षण समेत कम देखिन थालेकाे छ ।

त्यसो त, स्थानीय तहहरुमा वाणिज्य बैंक नै पुग्नु र विपन्न वर्ग कर्जाबाहेक अन्य कर्जाको स्रोत नहुने कारणले पनि उनीहरुको नाफा विस्तारमा संकुचन हुने अवस्था देखिएको छ । यसका कारण लघुवित्त बैंकर्स संघले कृषि कर्जालाई पनि लघुवित्त कम्पनीमार्फत् लगानी गर्नुपर्ने व्यवस्था गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत् गर्नुपर्ने माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.