बाणिज्य बैंकहरुको ‘फोर्सफुल मर्जर’ले सेयर बजारका लगानीकर्ता उत्साहित

  २०७६ असार १३ गते ९:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउने तयारी गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । उनीहरुले बाणिज्य बैंकहरुको मर्जरले सेयर बजारका लागि दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउँदा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए ।
‘बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउनु राम्रो हो । यसले सेयर बजारमा दिर्घकालिन सकारात्मक प्रभाव पार्छ’, फोरमका अध्यक्ष रौनियारले भने ।
उनले तत्काल लाभ खोज्ने लगानीकर्ताका लागि भने केहि नोक्सान हुन सक्ने सम्भावना पनि स्विकार गरे ।

‘तत्काल नाफा खोज्नेका लागि चाँही केहि घाटा हुन सक्छ, अहिले बजारमा ट्रेडरहरु हावी भैरहेका छन् ’, रौनियारले भने  । बैंकहरुको रिजर्भ कोष वृद्धि हुने, लगानीको श्रोत बढ्ने, ग्राहक अधार वृद्धि हुने लगायतका कारणले पनि फोर्स मर्जरले सेयर बजारका लगानीकर्तालाई थप टेवा पुर्याउने उनको विश्लेषण छ ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि फोर्स मर्जरले सेयर बजारमा दिर्घकालन रुपमा राम्रो नतिजा दिने बताए । ‘बैंकहरुले राम्रा र ठुला परियोजनामा ऋण दिन सक्ने अवस्था छ, फोर्स मर्जरले उनीहरुको क्षमता बढाउँछ र प्रतिफल पनि राम्रो दिने भएकाले यो कदम राम्रो लागेको छ’, संघका उपाध्यक्ष फुल्लेलले भने ।

उनले यति सानो अर्थतन्त्र भएको देशमा यति धेरै बैंक आवश्यक थिए की थिएनन भनेर पहिले नै सोच्नुपर्ने तर ढिलै भएपनि राष्ट्र बैंकले राम्रो नीति लिएको स्पष्ट पारे । ‘बाणिज्य बैंकहरुको फोर्स मर्जरले सेयर बजारका लगानीकर्ता उत्साहित छन्’, फुल्लेलले भने । इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि सेयर बजारका लागि फोर्स मर्जर सकारात्मक भएको बताउँछन् । ‘एक हप्तामै जोडी नभेटिन सक्छ, तर बाणिज्य बैंकहरुलाई मर्जरमा लैजाने कुरा राम्रो हो’, लम्सालले भने ।

नेपाल राष्ट्र बैंकले असार २७ गते अगावै मर्जर पार्टनर खोजेर आउन बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । बिहिबार बाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त भेला डाकेर गभर्नर डा. नेपालले मर्जर पार्टनर खोजेर आउन निर्देशन दिएका हुन् । आफैं पार्टनर खोज्न नसक्नेहरुलाई राष्ट्र बैंक आफैंले पार्टनर खोजिदिने चेतावनी पनि गभर्नरले दिएका थिए ।  राष्ट्र बैंकले यस अघि नै लघुवित्त कम्पनीहरुलाई मर्जरका लागि तयार रहन निर्देशन दिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.